Logo

१० महिनामा ४ सय खर्बको विद्युतीय भुक्तानी कारोबार, सबैभन्दा बढी आरटिजीएसमार्फत

१० महिनामा ४ सय खर्बको विद्युतीय भुक्तानी कारोबार, सबैभन्दा बढी आरटिजीएसमार्फत



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा नेपालका भुक्तानी प्रणालीहरुबाट साढे ४ सय खर्बको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न प्रणालीमार्फत ४ सय ४९ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको हो । यसअवधिमा यस्तो भुक्तानी १ अर्ब ११ करोड पटक भएको देखिन्छ ।

laxmi

तथ्यांकलाई आधार मान्दा यस अवधिमा सबैभन्दा बढी भुक्तानीको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत भएको देखिन्छ । यो प्रणालीमार्फत चालु आवको साउनदेखि बैशाखसम्म ७ लाख २८ हजार पटक गरी २ सय ८६ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । खासगरी सरकारी ठुला भुक्तानीहरु यो प्रणालीमार्फत हुने गरेका छन् । पछिल्लो १० महिनामा भएको भुक्तानी कारोबारमा आरटिजीएस प्रणालीको हिस्सा करिव ६० प्रतिशत छ ।

यस्तै इलेक्ट्रोनिक चेक पेमेन्ट (इसीसी)ले पनि यस अवधिमा सबैभन्दा बढी कारोबार हुने प्रणालीको दोस्रो स्थान ओगटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा इसीसीमार्फत १ करोड ८ लाख पटक गरी ४७ खर्ब २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

यस्तै यसै अवधिमा कनेक्ट आइपीएसमार्फत ४४ खर्ब ३५ अर्ब मोबाईल बैंकिङमार्फत २७ खर्ब २७ अर्ब र आइपीएसमार्फत १८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको देखिन्छ ।

चालु आवको १० महिनामा क्यु आर कोडमार्फत मात्रै ३ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको तथ्यांकमा उल्लेख छ । यसै अवधिमा इन्टरनेट बैंकिङमार्फत १ खर्ब ३३ अर्ब, एटिएममार्फत ८ खर्ब ७५ अर्ब, डेबिट कार्डमार्फत ९ खर्ब १० अर्ब, क्रेडिट कार्डमार्फत १७ अर्ब, प्रिपेड कार्डमार्फत ६ अर्ब, डिजिटल वालेटमार्फत २ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

यी सबै प्रणालीमध्ये सबैभन्दा धेरै पटक कारोबार भने मोबाईल बैंकिङमार्फत भएको देखिन्छ । चालु आवको १० महिनामा यो प्रणालीमार्फत ३५ करोड ९७ लाख पटक कारोबार भएको तथ्यांकमा उल्लेख छ । यस्तै वालेटमार्फत २५ करोड ७ लाख पटक, डेबिट कार्डमार्फत १२ करोड ७३ लाख पटक, एटिएममार्फत ११ करोड ८९ लाख पटक र क्यु आरमार्फत १३ करोड ८४ लाख पटक कारोबार भएको देखिन्छ । खासगरी धेरै ठुलो रकमको भुक्तानी हुने प्रणालीहरु आरटिजिएस, इसीसी, कनेक्ट आइपीएसलगायतमार्फत भने कारोबारको संख्या न्युन भएपनि रकम भने उच्च हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको पहुँचसम्म विद्युतीय भुक्तानी पुर्याउने गरी गरिएका कार्यलाई प्राथमिकता दिँदै आएका छन् ।

आफ्नो कार्यकालको पहिलो केही महिना विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न भन्दै क्युआर पेमेन्ट सिस्टमको राम्रै प्रचारबाजी गरेपछि यसको एकाएक चर्चा भएको थियो । जसको फलस्वरुप तरकारी फलफूल पसलदेखी शोरुमसम्म पनि हाल क्युआर कोडमार्फत सेवा तथा वस्तुको भुक्तानी गर्न सकिने अवस्था आएको छ ।

यस्तै डिजिटल भुक्तानीका अन्य प्रणालीहरुलाई पनि सशक्त बनाउनकै लागि प्राय बर्षका मौद्रिक नीतिमा पनि यस्ता विषयहरुलाई प्राथमिकता दिने गरेको पाईन्छ । जसमा विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरुलाई विशेष सुविधा पनि दिईने उल्लेख गरिँदै आएको छ । जसको फलस्वरुप नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी लगातार बढिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL