Logo

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु, ग्रामिण विकासको मूख्य आधार लघुवित्तः कामु गभर्नर

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु, ग्रामिण विकासको मूख्य आधार लघुवित्तः कामु गभर्नर



काठमाडौं । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिमिल्सिनाले लघुवित्त ग्रामिण विकासको मूख्य आधार भएको बताइन् । लघुवित्तले गरिव र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको उनले बताइन् । ‘लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरुलाई जनाउँछ, जसले उनीहरुलाई स्वरोजगारका अवसरहरु विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुयाउँछ’ उनले भनिन् ।

laxmi

समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बावजूद मुलुकको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको उनले बताइन् । अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुलाई गरिवी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उनको भनाई छ ।

‘नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा पनि बढी भईसकेको छ । यसबीच गरिवी निवारणका धेरै पहल सुरु गरिएतापनि लघुवित्त कार्यक्रम मात्र गरिवी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ ।’

कायममुकाय गभर्नर तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराइन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या १ लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन । महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको छ । लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ, जसअन्तर्गत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ ।
यद्यपी महिलाहरुसंग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवासय थालनी गर्दा आवश्यक हुने कर्जाको धितो समेतको अभाव भएको देखिएको उनले बताइन् । ‘कुल पुरुषको जनसंख्या मध्ये ५६ प्रतिशत पुरुषहरुको वित्तमा पहुंच रहेको छ भने महिलाहरुको कुल जनसंख्या मध्ये मात्र ३६ प्रतिशत पहुंच रहेको छ । आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था छ’ उनले भनिन् ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिए । उनले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाई गर्नुपर्ने बताए । ‘नाफा कमाउने होडमा लघुवित्त संस्थाहरु लागेको देखिन्छ । यति नाफा कमाए, उति नाफा कमाए भनिएको छ । तर, त्यो लघुवित्तको साथर्ककता होइन । लघुवित्त कमाउ धन्दामा फस्नु भएन । लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२/२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु । त्यसैले संख्यात्मक बृद्धि गर्न सदस्य खोसाखोस नगरौं’ उनले भने । बहुँकर्जाले लघुवित्तलाई अल्मल्याएको उनको भनाई छ ।

लघुवित्त सेवाको संस्कार गिर्दो अवस्थामा रहेको भन्दै उनले समयमै सच्चिन आग्रह गरे । ‘सक्षम’ नामक विदेशी परियोजनाले जथाभावी लघुवित्तको शाखा बढाउन लगाएको समेत उनले बताए । उनले अरुको भड्काउन नलाग्न आग्रह गरे । ‘अरुको खुट्टामा उभिने होइन । हामी आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । आत्ममूल्यांकन गरौं, हामी सक्षम छौं, गन्तव्यमा पुग्छौंं’ उनले भने ।

उनले लघुवित्तहरु स्वःनियमनमा बस्नुपर्ने आवश्यकता औल्याए । ‘पुरानो ढर्राबाट अब चल्न हुँदैन । अहिले नै सचेत बन्नुपर्छ । ढिला गर्न हुँदैन । स्वः नियममा बस्न अरुले निर्देशन दिन पर्दैन । राम्रो कामका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुर्नु पर्दैन’ उनले भने ।

सम्मेलन उद्घाटनमा आउने कार्यक्रम भएपनि निर्वाचन आचारसंहिताका कारण आउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन सफलताको शुभकामना पठाएका थिए । शुभकामना दिँदै उनले देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तहरुले स्थानीय उत्पादनमा बृद्धि गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गरेको बताए । उनले स्थानीय तहका नागरिकहरुलाई बचत र लगानीमा प्रोत्साहन गर्दै आयआर्जनमा बृद्धि गरेर सम्रगमा मुलुकको आर्थिक अवस्थालाई चलायमान गराउन लघुवित्तहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
देशभर रहेका लघुवित्तहरुले स्थानीय उत्पादनलाई आधुनिकिकरण र बजारिकरण गर्नमा समेत लघुवित्तहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

सम्मेलन उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम उपसमिति संयोजक ज्योतीचन्द्र ओझाले लघुवित्तहरुको मुख्य लक्ष्य गरिबी निवारण भएको बताए । उनले सम्मेलनको प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथीसहित सम्मेलनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL