Logo

गाडीलगायत विलासी वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन, नेपाललाई अत्यावश्यक नपर्ने वस्तुको एलसी नखोलिने

गाडीलगायत विलासी वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन, नेपाललाई अत्यावश्यक नपर्ने वस्तुको एलसी नखोलिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर गाडीलगायत विलासी वस्तुहरुको आयात रोक्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको आकस्मीक बैठक राखेर त्यस्ता वस्तुहरुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको हो ।

laxmi

पछिल्लो समय शोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र वैदेशिक मुद्रा संचितिमा उच्च दवाव परेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको एक बैंकका सीईओले बिजखबरलाई बताए । ‘यो विशेष समय हो यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्छ ।

तसर्थ नेपाललाई अत्यावश्यक पर्नेबाहेक कुनैपनि वस्तुको एलसी नखोल्नुहोला,’ राष्ट्र बैंकले उक्त निर्देशन दिएको उनले भने, ‘भोलीकै दिनदेखि नेपाललाई नभई नहुने बाहेक गाडीलगायत कुनैपनि विलासी वस्तुको आयातका लागि एलसी खोलिने छैन ।’

यसअघि राष्ट्र बैंकले व्यापारघाटा नियन्त्रणका लागि भन्दै सवारीसाधन आयातमा दिईने नगद मार्जिनको सिमा ५० प्रतिशतले घटाईदिएको थियो । सोमबार २७ वाणिज्य बैंकका सीईओहरुसँगको बैठकमा राष्ट्र बैंकका तर्फबाट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL