Logo

के राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्दैछ ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता

के राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्दैछ ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि सम्बन्धमा हालसम्म कुनै छलफल नभएको र मौद्रिक नीतिमार्फत पूँजी वृद्धि हुने सम्भावना समेत नरहेको स्पष्ट पारेको छ । पछिल्लो समय बजारमा राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि गर्नेजस्ता विषय उच्च रुपमा उठेपछि राष्ट्र बैंकले सो कुरा बताएको हो । 

laxmi

आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको चरणमा बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिको विषयमा कुनै छलफल नभएको र बजारमा आएको हल्लाहरुमा कुनै सत्यता नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । ‘हामीले २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि गर्यौं र २०७५ सालमा आएर उक्त लक्ष्य पुरा गरेका थियौं,’ उनले भने, ‘चुक्ता पूँजी वृद्धि पछि बैंक तथा वित्तीय संस्थाको व्यापार व्यवसायले भर्खर लय समातेको अवस्थामा पुनः पूँजी वृद्धि त्यति सान्दर्भिक देखिन्दैन पनि ।’

राष्ट्र बैंक भित्र बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धिको सम्बन्धमा छलफल गर्ने प्लेटफर्म हो बैंक तथा वित्तीय संस्था नियमन विभाग । तर हालसम्म पनि पूँजी वृद्धिको विषयले प्रवेश नपाएको र आगामी दिनमा पनि प्रवेश पाउने सम्भावना नदेखिएको उनको भनाई थियो । ‘जब राष्ट्र बैंक मौद्रिक नीति निर्माणमा जुट्छ बजारमा यस्ता खालका भ्रम सिर्जना गर्ने हल्लाहरु फैल्याइन्छ,’ उनले भने, ‘अहिले बजारमा चुक्ता पूँजी वृद्धिको सम्बन्धमा जुन खालको हल्ला फैल्याईएको छ त्यो शतप्रतिशत निराधार छ ।’ साथै अहिले राष्ट्र बैंकले पूँजी वृद्धिको विषयमा सोच्ने अवस्था समेत नरहेको समेत उनले स्पष्ट पारे । 

तर केही समय अघि भने राष्ट्र बैंकले भने वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई बैंकको चुक्ता पूँजी कति पुर्याउनु उपयुक्त हून्छ ? नेपालमा बैंकको संख्या कति चाहिन्छ भन्ने प्रश्नावली तयार पारेर जवाफ माग गरेको थियो । मौद्रिक नीति निर्माणकै चरणमा उक्त प्रश्नावलीमार्फत वाणिज्य बैंकका अध्यक्ष तथा सीईओहरुको जवाफ माग्नुलाई धेरैले अबका दिनमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पूँजी वृद्धि गर्छ कि भन्ने तर्क अघि सारेका थिए । राष्ट्र बैंकले मौद्रिक नीति निर्माणमा सुझाव संलकन गर्न वाणिज्य बैंकका अध्यक्ष तथा सीईओहरुलाई १५ ओटा प्रश्नावली पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL