Logo

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची



काठमाडौं । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्याे तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १ सय ४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।

गएको आर्थिक वर्ष २०७६र७७ को (साउन–भदौ) मा ६४ करोड २३ लाख १ हजार रुपैयाँ बराबरको चिया निकासी भएकोमा यस आव (साउन–भदौ) मा १ अर्ब ५८ करोड ६६ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६र७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५ सय ८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।

कोरोना र मौसमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउँछन्। उनी भन्छन्, “भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।” मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ । वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्याङ्कमा फरक नपर्ने बताउनुहुन्छ, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

घट्यो अलैँची, अदुवामा सामान्य सुधार

आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको छ । गत आव २०७६र७७ (साउन–भदौ) मा ११ करोड ८३ लाख ५० हजार रुपैयाँ मूल्यको अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा १३ करोड ८४ लाख ७२ हजार रुपैयाँको अदुवा निकासी भएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार गत आव (साउन–भदौ) मा २२ लाख ५९ हजार ४ सय ३१ किलो अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा २८ लाख ७९ हजार १ सय किलो निकासी भएको छ । अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ ।

यता अलैँचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६र७७ (साउन–भदौ) मा १ अर्ब २ करोड ५९ लाख ८९ हजार रुपैयाँको अलैँची निकासी भएको छ भने यस आव २०७७र७८ मा ९६ करोड सात लाख १६ हजार रुपैयाँ मूल्यको निकासी भएको देखिन्छ । गत आर्थिक वर्ष २०७६र७७ (साउन–भदौ)मा १२ लाख ७५ हजार २ सय ९४ किलो अलैँची नेपालमा निर्यात भएकामा यस आव २०७७र७८ (साउन–भदौ) मा १२ लाख ८ सय ४५ किलो अलैँची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

विभिन्न समस्याले अलैँचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ । कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैँची निकासी नभएको र यस वर्षको अलैँची उत्पादन भइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउँछन् ।

यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ । पाँच वर्षअघि अलैँचीको मूल्य १ लाख रुपैयाँ प्रति मन (४० किलो० भएकामा अहिले प्रतिमन २० देखि ३० हजार रुपैयाँको अनुपात छ । यसरी अलैँचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL