Logo

भारतबाट उच्च आयात हुँदा विक्न छाड्यो नेपाली दूध : सहकारीले किन्न छोडे, डीडीसीलाई व्यवस्थापन गर्न कठिन

भारतबाट उच्च आयात हुँदा विक्न छाड्यो नेपाली दूध : सहकारीले किन्न छोडे, डीडीसीलाई व्यवस्थापन गर्न कठिन



काठमाडौं । भारतबाट हुने आयात बढ्दा र नेपालमा दूधजन्य पदार्थको खपत घट्दा सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डीडीसी)लाई दूध व्यवस्थापन गर्न सकस भएको छ । डीडीसीमा अघिल्ला बर्षहरुभन्दा यो बर्ष प्रतिदिन ५० हजार लिटर बढी दूध संकलन हुने तर खपत आधाले घटिदिँदा यस्तो समस्या निम्तिएको डीडीसीले बताएको छ ।

laxmi

अघिल्ला बर्षहरुमा यहि सिजनमा डीडीसीमा दैनिकजसो जम्मा ९० हजार लिटर दूध संकलन गर्दै आएको थियो । तर, यो बर्ष निजी क्षेत्रका सहकारी तथा डेरीले कृषकहरुको दूध नै नकिनेपछि सबै कृषकहरुले दूध डीडीसीमै बुझाए । जसका कारण हाल डीडीसीमा दैनिकजसो १ लाख ४० हजार लिटरको हाराहारीमा दूध संकलन हुने गरेको छ । यस्तै यसै बर्ष सहकारी र नेपालका डेरीहरुले दूध लिनै छोडेपछि भने डीडीसीलाई अप्ठ्यारो परेको हो ।

अघिल्ला बर्षहरुभन्दा यो बर्ष दूधको उत्पादन र संकलन बढ्ने तर खपत घट्ने भएपछि डीडीसीलाई दूध व्यवस्थापन गर्न कठिन भएको डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए । ‘अघिल्ला बर्ष हाम्रो खपत अनुसार दूध विक्री भईरहेको थियो संकलन पनि त्यहि अनुसार थियो,’ उनले भने, ‘तर यसपल्ट खपत त घट्घट्यो त्यसमाथि कृषकहरु सबैको दूध हामीकहाँ थुप्रियो ।’

भारतबाट पनि आयात भईरहेको र नेपालमा पनि दूधको संकलन बढी भएको तर सोही अनुरुप विक्री नहुँदा कृषकको भुक्तानीमा पनि समस्या भएको बताए । कृषकहरुले डीडीसीले मात्रै करिव ३ महिनादेखि ३ अर्ब बढी रकम दूधको बुझाउन बाँकी छ । तर, पहिलो चरणमा केहि रकम बुझाउने गरी अर्थमन्त्रालयले गएको शुक्रबार मात्रै डीडीसीको खातामा ३० करोड रुपैयाँ हालिदिएको छ ।

प्रतिवर्ष ५ प्रतिशतका दरले ब्याज बुझाउने गरी शुक्रबार डीडीसीको खातामा ३० करोड रुपैयाँ आएको अधिकारीले बताए । उनका अनुसार सरकारबाट आएको ३० करोड अब चाँडै कृषकहरुलाई वितरण गर्ने गरी तयारी गरिएको उनको भनाई छ । यता अर्थमन्त्रालयका एक अधिकारीले भने डीडीसीलाई कृषकको बुझाउन भन्दा पनि ३० करोड रुपैयाँले संकलन भएको दूधबाट पाउडर, नौनीलगायत बनाई बजारमा पठाउन सहयोग पुग्नेगरी दिएको बताए ।

‘वहाँहरुले दूध धेरै संकलन भयो, खपत न्युन भयो भन्दै त्यसको पाउडर र अन्य पदार्थ बनाउन मेसिन खरिद गरी वस्तु उत्पादन बढाएर बजारमा बेची कृषकको भुक्तानी गर्ने भन्दै वहाँहरुले माग्नुभएको हो,’ उनले भने, ‘हामीले सोही अनुसार उहाँहरुको खातामा पैसा जम्मा गरिदिएका छौं ।’

यसरी पछिल्लो समय दूध नै फालाफाल हुँदा नै बजार र कृषकको भुक्तानीमै सकस भईरहेको निजी क्षेत्रका दुग्ध सहकारीहरुको संस्था नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् । भारतीय सीमानजिकका धेरैजसो दुग्ध सहकारीहरुले भारतबाटै दूध ल्याएर विक्री वितरण गर्ने गरेका छन् । त्यतिमात्रै होईन सीमानजिकका डेरीहरुमा दूधको मूल्य न्युन पर्ने भएपछि नेपालका केहि सहकारीहरुले पनि ती डेरीहरुबाट दूध उठाउँछन् । यसो हुँदा नेपाली कृषकहरुको दूध नउठेपछि गएको माघदेखि कृषकहरु आन्दोलनमा थिए ।

एकातर्फ स्वदेशी दूध नउठ्ने र अर्कातर्फ दूध उत्पादन लगातार बढ्दाले कृषकहरुको दूधले बजार नै नपाएपछि तत्कालिन कृषमन्त्री घनश्याम भुषालले भारतबाट हुने दूग्धपदार्थको आयात नै रोकिदिएका थिए । त्यसयता भारतीय बजारबाट नेपालमा दूध आयात नहुने गरेको कृषकहरु बताउँछन् । तर भन्सार विभागको तथ्यांकलाई केलाउँदा चालु आर्थिक बर्षको हालसम्म नेपालले विदेशबाट खासगरी भारतबाट करिव साढे १ अर्ब बढीको दूध तथा दुग्धजन्य पदार्थ आयात गरेको देखिन्छ । नेपालमा उत्पादन हुने दुग्धजन्य पदार्थमध्ये धेरैजसो वस्तु भारतीय बजारबाटै आयात गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

भारतीय बजारबाट आउने दुग्धजन्य पदार्थभन्दा नेपालको दुग्धजन्य पदार्थ महंगो पर्छ । जसका कारण स्वतः डेरीहरु पनि उतैको उत्पादन खरिद गर्ने भएपछि नेपाली किसानले उत्पादन गरेको उत्पादनले उचित बजार नपाउने समस्या पछिल्लो समय नेपाली बजारमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL