Logo

निर्जीवन बीमा कम्पनीलाई बीमा समितिको साथ, बन्द भयो ‘कोरोना बीमा’ योजना

निर्जीवन बीमा कम्पनीलाई बीमा समितिको साथ, बन्द भयो ‘कोरोना बीमा’ योजना



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले संचालनमा ल्याएको कोरोना बीमा योजना बन्द भएको छ । बीमा समितिसँगको छलफल पश्चात निर्जीवन बीमा कम्नपीहरुले उक्त बीमा पोलिसी बिक्री गर्न स्थगित गरेका हुन् ।

laxmi

पछिल्लो समय देशमा कोरोना संक्रमण उच्च रुपमा बढ्दै गएपछि बीमा कम्पनीहरुले बीमा समिति समक्ष उक्त बीमा गर्न नकिने बताउँदै आएका थिए । सोही अनुरुप बीमा समितिले पनि निर्जीवन बीमा कम्पनीलाई साथ दिँदै उक्त बीमा पोलिसी बिक्री गर्ननै स्थगित गरिदिएको छ ।

हाल कोरोना बीमाको दायित्व उच्च रुपमा बढ्दै गएका कारण तत्कालका लागि कोरोना बीमा गर्न स्थगित गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हामीले कोरोना बीमाको दायित्व उच्च रुपमा बढ्दै गएपछि मोडालिटी नै परिमार्जन गर्न तत्कालका लागि कोरोना बीमा स्थगित गरेका छौं,’ पौडेलले भने, ‘सरकारले पनि बजेटमार्फत कोरोना बीमामा अनुदान दिने भनेको छ त्यसको पनि मोडालिटी आएपछि पुनः गराउनेछौं ।’

साथै सो सम्बन्धमा नेपाल पुनर्बीमा कम्पनीसँग छलफल गरेर कोरोना बीमाको नयाँ मोडालिटी तयार गरिने समेत पौडेलले जानकारी दिए । तर आजैका मितिबाट अर्को सुचना नआएसम्मका लागि उक्त बीमा गराउन बन्द गरिएको पौडेलले बताए ।

नेपालमा १/२ जनामा कोरोना संक्रमण हुँदा त्यसबाट ठूलो मात्रामा बीमाङ्म रकम संकलन हुने भन्दै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा गराउन लविङ गरेका थिए । तर, पछिल्लो समय बीमा गराउनेको संख्याका साथै कोरोना संक्रमितको संख्या समेत बढेपछि बीमा समितिको लविङमा उक्त बीमा नै बन्द गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा गर्न सुरु गरेसँगै हालसम्म ३ लाखभन्दा बढीले उक्त बीमा गराईसकेका छन् । समितिले १ हजार रुपैयाँमा १ लाख रुपैयाँको र ५ सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बीमा गर्दा ६ सय रुपैयाँमा १ लाख र ३ सय रुपैयाँमा ५० हजार रुपैयाँ बराबरको बीमा गर्ने व्यवस्था गएिको थियो ।

दुई थरी बीमा पोलिसीमार्फत बीमा कम्पनीहरुले करिव १७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने सो वापत ३० अर्ब रुपैयाँभन्दा बढी दायित्व सिर्जना भएको छ । उक्त बीमाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देख्ने वित्तिकै बीमा कम्नपीले भुक्तानी दिनुपर्ने र पछिल्लो संक्रमितको संख्या ह्वात्तै बढेकाले निजी बीमा कम्पनीहरुले बीमा समिति समक्ष लविङ नै गरेर रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL