Logo

माघ १३ देखि मुग्लिन– नारायणगढ सडक दिउँसोमा पनि बन्द

माघ १३ देखि मुग्लिन– नारायणगढ सडक दिउँसोमा पनि बन्द


बिजखबर संवाददाता
27
Shares

चितवत । माघको दोस्रो हप्तादेखि मुग्लिन–नारायणगढ सडकखण्ड दिउँसोको समयमा पनि बन्द गरिने भएको छ । रातको समयमा मात्र सवारी रोकेर काम गर्दै आएको सो सडकखण्ड माघ १३ गतेबाट दिउँसोको समयमा पनि सवारी रोकेर काम गर्न लागिएको हो ।

रातको समयमा मात्र काम गर्दा सन्तोषजनक प्रगति हुन नसकेको भन्दै चितवन जिल्ला प्रशासन तथा सरोकारवालाले उक्त निर्णय गरेका हुन् । जस अनुसार १ महिनासम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी आवगमन रोकिने भएको छ ।

गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेर काम गरिँदै आएको छ । दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिने छ ।

गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणका रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए । ‘रातिमा रोक्दा शुन्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शुन्य दशमलव २७ प्रतिशत काम भएको छ,’ उनले भने, ‘रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो । जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।’

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताए । समयमा काम सक्नुपर्ने र जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २ सय मिटर, चेपाङडाँडा र १६ किलोमा ३ सय मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL