Logo

वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए पदबाट राजीनामा

वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए पदबाट राजीनामा



काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘खरेल विहान आफै मन्त्रालयमा आउनु भएको थियो,’ उक्त स्रोतले भन्यो, ‘उहाँले मन्त्रीसँग भेट गरी आफ्नो राजीनामा पत्र बुझाएर जानु भएको छ ।’

खरेलले निगमको कार्यकारी अध्यक्ष भएर सुधारका काम गर्न नसकेको भन्दै मन्त्री भट्टराई रुष्ट बन्दै आएका थिए । उनले सार्वजनिक कार्यक्रममै खरेललाई पद छाडेर बाटो खुला गरिदिन आग्रह गरेका थिए ।

मन्त्रिपरिषदेको निर्णयबाट ३१ भदौ २०७५ मा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको करिव डेढ बर्ष वितिसक्दा पनि कुनै पनि ठोस काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समेत पछिल्लो समय उनीसँग सन्तुष्ट थिएनन् ।

खरेलले यसअघि पनि निगमको महाप्रबन्धबाट काम गर्न नसकेको भन्दै राजीनामा दिएर बाहिरिएका थिए । उनी यस अघि २०७० साल जेठमा ४ वर्षका लागि महाप्रवन्धक हुँदा पनि १ बर्षपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL