Logo

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २७ प्रतिशतले बढे, नेपाली पर्यटक बढ्दा विदेशी पर्यटक घटे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २७ प्रतिशतले बढे, नेपाली पर्यटक बढ्दा विदेशी पर्यटक घटे



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या २६ दशमलब ८५ प्रतिशतले बढेको छ । गत वर्षको ४ महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन २६ दशमलब ८५ प्रतिशतले बढेको निकुञ्जले जानकारी दिएको छ ।

laxmi

निकुञ्जको तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यस वर्ष यो संख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिएका छन ।

वृद्धि भएको पर्यटकमध्ये नेपालीको संख्या बढी छ । गत वर्ष यस अवधिमा नेपालीको संख्या ९ हजार ८ सय ५५, सार्क मुलुकका ५ हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए । यस वर्ष नेपालीको संख्या २४ हजार ४३५, सार्क मुलुकका ६ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् । जसमध्ये नेपालीको संख्या गत वर्षभन्दा १४ हजार ५८० ले वृद्धि भएको छ ।

विदेशीको संख्या भने १ हजार १०७ जना घटेको छ भने सार्क मुलुकका पर्यटक १ हजार १९६ ले बढेको छ । नेपालीको संख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा एक लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यसअघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको संख्यामा निकै गिरावट आएको घिमिरेले बताए । आर्थिक बर्ष २०७१/०७२ मा १ लाख ७८ हजार २५७ पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जको इतिहासमा हालसम्मकै त्यो उच्च संख्या हो । यस वर्षको ४ महिनालाई हेर्दा र भ्रमण वर्ष मनाउन लागिएकाले चालू वर्षमा हालसम्मकै उच्च पर्यटक आउने अपेक्षा गरिएको छ ।

चितवनमा मुख्यरुपमा निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुङ्गा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL