Logo

यसकारण सम्भव छैन नेपालमा अन्तरप्रदेशीय उडान

यसकारण सम्भव छैन नेपालमा अन्तरप्रदेशीय उडान




पछिल्लो समय नेपालमा अन्तरप्रदेशीय उडानको चर्चा भइरहेको छ । नेपाल भ्रमण वर्ष–२०२० को पूर्वाधमा अहिले यो विषय किन पनि उठिरहेको छ भने अन्तरप्रदेशीय उडान हुन सके पर्यटकका लागि नेपालको यात्रा थप सहज हुने थियो र पर्यटक सबै प्रदेशमा पनि पुग्न सक्थे भन्ने हो जस्तो लाग्छ । अहिले माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले जुन ढंगले प्रदेशदेखि प्रदेश सम्म आन्तरिक उडान गर्ने कुरा अघि सार्नुभएको छ, त्यो सकारात्मक त छ । तर, त्यो तत्कालै सम्भव भने छैन । किन भन्ने प्रश्न पक्कै आउँछ यहाँ । यसको एउटै उत्तर भने बजारको अभाव नै हो । प्रदेशदेखि प्रदेशमा उडान गर्न मुख्य समस्या बजारकै हो । बजार हुने हो भने सबै एयरलाईन्स दौडेर भए पनि गईहाल्थे नि, हामी मात्र किन जान्थ्यौं र । हामीसँग पनि अन्तरप्रदेशीय उडानका लागि जहाज नभएको होईन पर्याप्तमात्रामा छ । तर के गर्ने मान्छे नै पाईँदैन, मान्छे पाउने हो भने उडान हुने हो, घाटाको ब्यापार त कसैले गर्दैन ।

laxmi

तै पनि हामीले क्रस सेक्टरमा हेर्दा पोखरा–भैरहवा उडान गरेको ३ बर्ष भईसकेको छ । हामीले फेब्रुअरी ३ देखि पोखरा–बिराटनगर उडान गर्ने भनेर बुधबार मात्रै हप्तामा ३ उडान गर्ने गरी मिति तय गरेका छौं । त्यता दुई महिना उडान गरेर हेर्छौ, मान्छे भयो भने उडान थप गर्दै जाने हो । यदि त्यो सफल भयो भने एक दुई महिनाको फरकमा नेपालगञ्ज–पोखरा, पोखरा–सिमरा उडान गर्ने योजजामा पनि हामीले काम गरिरहेका छौं । ‘हामीले गर्न सक्ने भनेको यतिमात्रै हो, अरुतिर अहिले तत्कालै सञ्चालन गर्न सम्भव छ जस्तो पनि लाग्दैन र हामी जान पनि सक्दैनौं ।

विमानस्थलको सुधार


त्यस्तै अहिले धेरै समस्या बिमानस्थलमा पनि छ । काठमाडौं विमानस्थलमा ३ देखि ४ घण्टासम्म जहाज होल्ड भएर बस्नु पर्ने अवस्था छ । विमानस्थलमा सुधार हुँदा गरेर केही राम्रो होला, सफा होला त्यो आफ्नो ठाउँमा छ । तर, रनवे त एउटै छ । रनवे एउटा हुने बित्तिकै समस्या आइहाल्छ । यात्रु सुविधाका लागि टर्मिनल बनाउने होला, त्यो अलग पाटो हो । जसले गर्दा यात्रुलाई सहज होला । तर, रनवेको कुरा गर्ने हो भने त एउटा मात्रै हो, जहाज गुड्ने ठाउँनै नभए पछि अहिले जहाज थप्नुको पनि कुनै अर्थ छैन ।

अहिले पनि काठमाडौंको विमानस्थलमा आईकाओको क्यापासिटिबाट २५ प्रतिशत माथि उडान हुँदै आएको छ । अहिले ठाउँ नै छैन, जहाज मात्रै थपेर के गर्नु ? जति जहाज थप्दै गयो त्यतिनै होल्ड हुँदै जाने हो । आखिर गर्ने उडान भनेको त्यही पुरानै सेडुअल अनुसार हो । अहिले मुस्किलले ४ ओटा उडान गर्न समेत गाह्रो भईरहेको छ । जवसम्म पूर्वधार विकास हुँदैन तवसम्म जहाज थपेर केही हुँदैन । सन् २०२० भित्रै भैरहवा विमानस्थल संचालनमा आउने भनेको पनि कुरा मात्रै हो । तपाईहरुले बाहिरबाट हेर्दा त्यो देखिन्छ तर हामीले भित्र एनालाईसिस गर्दा त्यो अवस्था छैन । रनवे, विमानस्थल बनाउँदै गईरहेको छ, रुट कुन हो भन्ने कुरामै प्रश्न छ । रुट कुन हो भन्ने कुरा कसैलाई थाहा छैन् ।

अहिले सम्म भारतले हवाई रुट समेत नदिएको अवस्था छ । भारतले जनकपुरको हवाई रुट उपलब्ध गराएर भैरहवाको लागि उपयुक्त नहुने देखिन्छ भैरहवाबाट दिल्ली जान सजिलो छ तर, आउने बाटो छैन । आउनको लागि फेरि सिमरा, विराटनगरको रुट हुँदै आउनुपर्छ । भारतले रुट दिन्छु भनेको होला, देला, कुरा भईरहेको होला, तर अहिल सम्म भारतले हवाई रुट उपलब्ध गराएको छैन । यस्ता समस्या समाधानका लागि सरकारले काम गर्नुपर्छ ।

पर्यटन र पूर्वाधार


अहिले भ्रमण वर्षको चर्चा छ । तर, हामीले भ्रमण वर्षकै लागि भनेर त्यस्तो योजना पनि बनाउनुपर्ने देखेका छैनौं । भ्रमण बर्ष लक्षित जहाज थप्ने कि भन्ने अवस्था पनि देखिएन । आन्तरिक उडानको लागि मात्रै जहाज थपेर के गर्ने ? भ्रमण बर्ष भनेर पर्यटक आउन नै कुनै टुङ्गो छैन । सरकारको लक्ष्य जुन छ २० लाख पर्यटक नेपाल भित्र्याउने, त्यो पनि सम्भव देखिएन । यस्तो अवस्थामा जहाज थपेर के गर्ने ? भ्रमण बर्षमा २० लाख पर्यटक ल्याउन सरकारले अन्तरराष्ट्रिय उडान गर्नुपर्छ । जवसम्म अन्तरराष्ट्रिय उडान गर्न सकिँदैन तव सम्म २० लाख पर्यटक ल्याउन सकिँदैन । भ्रमण बर्षमा केही पर्यटक त बढ्लान तर, २० लाख पर्यटक ल्याउन त अहिलेको तुलनामा दोब्बर बढ्नु पर्छ । त्यो कुनै हालतमा सम्भव छैन । अहिले नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक भनेको ११ लाख हो । त्यसमा नेपाली पासपोर्ट होल्डरबाहेक ८ लाख हो । अब त्यो ८ लाखको डबलभन्दा माथी ग्रोथ हुनलाई त अन्तरराष्ट्रिय उडान पनि बढ्नु पर्यो । हेर्ने हो भने वायुयानहरु बढेको छैन, घटेको छ । जेट एयर बन्द भयो, त्यसको मार्केट कसले मेकअप गर्ने ? त्यसको स्थानमा को आउँछ भन्ने निश्चित छैन् ।

अर्कोतर्फ भ्रमण वर्षमा पोखरा, भैरहवा विमानस्थल संचालनमा आयो भने त्यो अलग कुरा हो । तर, काठमाडौंको विमानस्थलले धान्न सक्ने देखिँदैन । काठमाडौं विमानस्थलको त अहिले नै पनि कुनै स्लट खाली छैन । कसरी आउँछन त २० लाख पर्यटक ? त्यस्तै पर्यटक १० लाख नै होस तर क्वालिटिको आउनु पर्यो । २० लाख पर्यटक ल्याएर मात्र के गर्ने ? खर्च गर्ने पर्यटक बढाउनु पर्छ । चिनियाँ पर्यटक बढाएर पनि काम छैन । जसले खर्च गर्दैन त्यस्तो पर्यटक ल्याएर काम छैन । र अर्को कुरा २० लाख पर्यटक ल्याउँछु भनेर मात्रै हुँदैन, सरकारले पूर्वधारमा पनि ध्यान दिन जरुरी छ ।

सरकारले २० लाख पर्यटक ल्याउने होईन पर्यटक त नीजि क्षेत्रले ल्याउने हो । सरकारको काम भनेको पूर्वाधार बनाउने हो । तर, हाम्रो सरकारले त्यो काम गर्न सकेको छैन । पर्यटक जाने भनेको मूख्य रुपमा काठमाडौं पछि पोखरा, चितवन, नगरकोटलगायतका क्षेत्रमा हो । ति क्षेत्रसम्म जाने बाटोमात्रै बनाईदिए पनि पर्यटक बढने थिए । काठमाडौंदेखि नगरकोट २२–२५ किलोमिटर सडक बनाउन त सकिँदैन भने अरु के गर्न सकिन्छ, २० लाख पर्यटक ल्याउँछु भनेर मात्रै हुन्छ र ? भ्रमण बर्ष जस्ता अभियान सञ्चालन गर्नु राम्रो हो । नेपालको ब्राण्ड चिनाउने अवसर पनि हो । पर्यटक आउने–नआउने कुरा अलग पाटो हो । जवसम्म सरकारले पूर्वधारमा जोड दिँदैन, तबसम्म केही हुनेवाला छैन । पर्यटक बढाउन बाटो राम्रो हुनु पर्छ । मान्छेहरु इण्डोनेसियाको बाली किन जान्छन ? एक पटक गएको मान्छे आएर भन्छ ओहो राम्रो रहेछ भने पछि अरु पनि जाने हो । तर, हाम्रोमा त्यस्तो किन हुन सम्भव भइरहेको छैन भनेर बुझ्नुपर्छ ।

एक पटक आएको पर्यटकले दोस्रो पटक आउने गरि खुशी भएर जाने बतावरण बनाउनु पर्छ । त्यसको लागि हरेक क्षेत्रको पूर्वधार विकास गर्नुपर्छ । पूर्वाधारमा विकास गर्न सकेको खण्डमा एकपटक आउने पर्यटकले ओहो नेपाल राम्रो भईसकेको रहेछ भने पछि अरु पनि आउँछन । त्यसपछि २० लाख होईन त्यो भन्दा बढी पर्यटक ल्याउन सक्छौं । हामी जति प्रचार प्रसार गर्छौं त्यो गर्नु पर्छ तर थाईल्याण्डले नेपालमा आएर प्रचार प्रसार गरेको छैन त्यै पनि थाईल्याण्ड घुम्न जाने पर्यटक हरेक बर्ष बढीरहेका छन । यसपालि दशैंमा मात्रै १० हजार भन्दा बढी नेपाली बिदेश घुम्न गएका छन । एउटा गएर आए पछि उसले भन्छ–यस्तो रहेछ उस्तो रहेछ भनेर । अनि अरु लहैलहैमा जाने गर्छन । तर, जानको लागि हरेक चिज राम्रो हुनु पर्छ र हाम्रोमा पनि त्यो हुनु पर्छ । राङडोल लामासँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL