Logo

राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन, नक्कली भ्याटवील र कर छली बढ्यो, छानविन गरेर कारबाही गर्नु

राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन, नक्कली भ्याटवील र कर छली बढ्यो, छानविन गरेर कारबाही गर्नु



काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । बिहीबार आन्तिरक राजस्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ,’ उनले भने, ‘तर राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’

laxmi

विभिन्न परिस्थितीजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको भन्दै गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम भएको उनको गुनासो थियो । ‘यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन,’ उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ ।’ साथै उनले राजस्वका कर्मचारीको प्रयासमा समेत कमीकमजोरी भएको भन्दै सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक अर्को कुनै विकल्प नभएको उनको तर्क छ । राजस्वक संकलन कार्य प्रगतिबाट नै कर्मचारीहरुको मूल्यांकन हुने समेत उनको भनाई थियो ।

काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेको भन्दै राजस्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्न नहुने उनको भनाई थियो । ‘बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको बिकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी छ,’ उनले भने, ‘यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजस्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको छु ।’

समिक्षा प्रतिवेदनले एउटा राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिन्छ । एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ भन्दै मन्त्री डा. महतले विभाग प्रमुखहरुलाई प्रश्न गरेका थिए । ‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ,’ उनले भने, ‘ ‘समस्या पहिचान हुनुपर्याे, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’

यदि विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न सकेनौं भने कर्मकाण्डी समिक्षा मात्र हुने र नयाँ काम गर्न नसकिने उनको तर्क थियो । ‘आन्तरिक राजस्व कार्यालयहरुमा कुनैको राजस्व संकलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ । यी कार्यालयका प्रमुखहरुले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्छ,’ उनले भने, ‘बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ ।’ यदि अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन गर्ने पद्धतिलाई विकास गर्नुपर्ने उनको तर्क थियो ।

पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित नभएको र विशेषगरी साना व्यवसायी धेरै प्रभावित भएको उनले जानकारी दिए । ‘त्यत्ति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलने लक्ष्यभन्दा कम उठ्छ ?,’ उनले भने, ‘भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो, यसमा गम्भीररुपमा लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL