Logo

पूनर्निर्माणका लागि ईटा अभाव

पूनर्निर्माणका लागि ईटा अभाव


रक्षा रेग्मी
108
Shares

बैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको भौतिक संरचना पूर्ननिर्माणका लागि ईटा अभाव हुने भएको छ । हाल सञ्चालनमा रहेका ईटा भट्टाले माग अनुसारको ईटा उत्पादन गर्न नसक्ने भएकाले अभाव खड्किएको हो ।

केही समय अघि सरकारले सम्पूर्ण भौतिक संरचनाको पूर्ननिर्माणका लागि १२ अर्व पिस ईट्टा आवश्यक पर्ने बताएको थियो । जुन हाल सञ्चालनमा रहेका ईटा भट्टाले उत्पादन गर्नेभन्दा ४ गुणाले बढी हो । हाल नेपालमा वार्षिक ३ अर्व २० करोड पिस मात्र उत्पादन हुने गरेको छ ।

भुकम्पले देशभरका आधा ईटा भट्टामा क्षति पुर्याएकोले पनि माग धान्न नसकेको मिनर्जीका निर्देशक सुयेश प्रजापतिले बताए । ‘भुकम्पले करीव ईटा भ्टटा भत्किदा ३० प्रतिशत उत्पादन घटेको छ,’ उनले भने ‘जम्मा उत्पादनको ७० प्रतिशत मात्र उत्पादन हुने भएकोले पनि माग धान्न नसकेको हो ।’ साथै, भुकम्पले ईटा उद्योगमा रु. १ अर्व १२ करोडको क्षती भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार भुकम्पले उपत्यकामा मात्र १ सय ५ ओटा उद्योगमा क्षति पुगेको छ । क्षति भएकामध्ये ७० प्रतिशत भट्टाको पूर्ण पुनर्निर्माण गर्नु पर्ने व्यवसायीहरु बताउँछन् ।

नेपाल ईटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारका अनुसार हाल देशभर ८ सय ईटा भट्टा सञ्चालनमा छन् । । जसमध्ये काठमाडौंमा मात्र १ सय १० छन् ।
एउटा घर निर्माणका लागि औसतमा ३० हजार ईटाको आवश्यकता पर्छ । त्यस आधारमा ४ लाख नयाँ घरको पुनर्निर्माण भयो भने पनि सवा अर्ब ईटाको आवश्यकता पर्छ । प्रजापतिका अनुसार एउटा ईटा भट्टाले एक सिजनमा ६ सयदेखि ७ सय टन ईटा उत्पादन गर्छ ।

गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्प र त्यसपछिका लगातार परकम्पले देशभरका करिव ५ लाख ८८ हजार निजी तथा सरकारी भवन क्षतिग्रस्त भएका थिए । गृहमन्त्रालयका अनुसार तीमध्ये ५ लाख ४२ हजार निजी र अन्य सकारी भवन हुन् ।

नेपालको ईटा उद्योगमा हालसम्म ३ अर्ब ६० करोड रुपैयाँ लगानी भएको छ । मुलुककै ठूलो रोजगारदातामध्येको एक यो क्षेत्रमा वार्षिक १ लाख ७५ हजार जनाले रोजगारी पाउने महासंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL