Logo

निजी क्षेत्रको संलग्नतामा ग्राहकको गुनासो सुन्न राष्ट्र बैंकले बनायो कार्यविधि, गुनासो सम्बोधन नभए बैंकलाई कारबाही

निजी क्षेत्रको संलग्नतामा ग्राहकको गुनासो सुन्न राष्ट्र बैंकले बनायो कार्यविधि, गुनासो सम्बोधन नभए बैंकलाई कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासो सम्बोधनका लागि कार्यविधि बनाएको छ । राष्ट्र बैंकले सोमबार गुनासो सम्बोधनका लागि एक समितिको परिकल्पना गर्दै पहिलो पटक ‘नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको हो ।

उक्त कार्यविधिले वित्तीय ग्राहकलाई सेवाप्रदायकबाट हुने असहज परिस्थिति, ढिलासुस्ती, बेवास्ता, पक्षपात, लापरबाहीलगायतका गुनासोलाई सम्बोधन गर्ने बताईएको छ । यस्तै वित्तीय क्षेत्रलाई आफ्ना ग्राहकलाई विना पक्षपात र सुरक्षित ढंगले सेवा प्रदान गर्न प्रोत्साहन गर्नेगरी उक्त कार्यविधि ल्याईएको राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर संयोजक र राष्ट्र बैंकका अन्य विभागका कार्यकारी निर्देशकलाई सदस्य बनाई गुनासो व्यवस्थापन समिति बनाईने छ ।

उक्त समितिले वित्तीय क्षेत्रका गुनासोको आवश्यक निर्णय गर्ने, ग्राहक संरक्षण ईकाईबाट हुननसकेका काम कारबाहीको बारेमा निर्णय गर्नेलगायतका काम गर्नेछ । यस्तै उक्त समितिले कार्यविधि कार्यान्वयनका लागि आवश्यक कामकारबाही समेत गर्ने बताईएको छ ।

यस्तै गुनासो संकलन गर्नका लागि आवश्यक काम भने वित्तीय ग्राहक संरक्षण ईकाईले गर्ने कार्यविधिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकको नेतृत्वमा गठन हुने उक्त ईकाईले ग्राहकको गुनासो संकलनका लागि आवश्यक टोलफ्री, टेलिफोन, ईमेललगायतको व्यवस्था गर्नेछ ।

यस्तै ईकाईले गुनासो संकलन गर्दा विस्तृत रुपमा संकलन गरी आवश्यक छलफल र पहलसमेत गर्नेछ । उक्त ईकाईको कर्मचारीको व्यवस्था भने बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकले नै गर्नेछन् ।

साथै उक्त गुनासो संकलनपश्चात ईकाईले सम्बन्धित निकायलाई एकै ठाउँमा भेला गरी गुनासो सुनुवाईको व्यवस्था गर्नेछ । त्यसपश्चात उक्त गुनासोको सुनुवाई ईकाईमार्फत नभएको खण्डमा उक्त गुनासो समितिकहाँ पुग्ने व्यवस्था कार्यविधिले गरेको छ । यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्नसक्ने ठुलो सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL