काठमाडौं । अब सहुलियतपूर्ण कर्जामा सरकारले ३ प्रतिशत मात्रै ब्याज अनुदान दिने भएको छ । सरकारले यसअघि बैंक तथा वित्तीय संस्थाहरूले दिने यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिँदै आएकोमा अबदेखि भने उक्त अनुदान घटाईएको हो । केन्द्रिय बैंकले सहुलियतपूर्ण कर्जाको ब्याजसम्बन्धि कार्यविधि २०८२ जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।
यता, सरकारले ब्याज अनुदान प्राप्त गर्ने क्षेत्र समेत कटौती गरेको छ । नयाँ कार्यविधिमा कपडा उद्योग सञ्चालन र उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा शीर्षकलाई हटाएको हो । सरकारले बजेटमा उल्लेख गरेअनुसार हरित पर्यावरणमा सघाउने उदेश्यले उद्योगमा रहेका बोइलर मेसिन प्रतिस्थापनको लागि समेत अनुदानमा कर्जा दिने भएको छ । यी दुवै शीर्षकमा ब्याज अनुदानमा २५ लाख रुपैयाँसम्म कर्जा दिने कुरा कार्यविधिमा उल्लेख छ ।
सहुलियतपूर्ण कर्जाको अवधि पाँच वर्षसम्म हुने व्यवस्था गरिएको छ । तथापि, बैंकहरुले कर्जाको प्रकृति अनुसार अवधि निर्धारण भने गर्न सक्ने कुरा कार्यविधिमा उल्लेख छ । त्यस्तै, बैंकहरुले यस्तो कर्जा २०८७ साल असार मसान्त पछि जारी गर्न नपाइने व्यवस्था कार्यविधिमा गरिएको छ । यस्तो कर्जा एकाघरको एक जनाले मात्रै पाउनेछन् ।