Logo

प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित

प्रिमियर इन्टरनेशनल स्कूलको दीक्षान्त समारोह सम्पन्न, ७३ जना विद्यार्थी सम्मानित



काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेशनल स्कूलले एक भव्य दीक्षान्त समारोह आयोजना गरेको छ । अन्तर्राष्ट्रिय डिप्लोमा कार्यक्रम र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत अध्ययन पूरा गरेका ७३ जना विद्यार्थीहरूलाई सम्मानपूर्वक विदाईकार्यक्रम र समारोह आयोजना गरेको हो । दीक्षित विद्यार्थीहरूमा ३२ जना आइबीडीपी र ४१ जना एनइबीका विद्यार्थी रहेका थिए।

समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रिमियर स्कूलको शैक्षिक प्रयासको खुलेर प्रशंसा गर्दै विद्यालयले ललितपुर मात्र नभई सिङ्गो नेपालमै शैक्षिक नेतृत्व गरिरहेको बताए । उनले विद्यालयको अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाले नेपाललाई विश्वसामु चिनाउन सहयोग गरिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई सफल भविष्यका लागि शुभकामना दिए ।

समारोहमा प्रमुख आकर्षणका रूपमा मुख्य अतिबाट प्रदान गरिएका शैक्षिक सम्मानहरू रहेका थिए। आइबीडीपीतर्फ आश्नी रुंगटा र एनइबीतर्फ प्रबिग्य पुरुष ढकाललाई भ्यालिडिक्टोरियनको उपाधिले विभूषित गरियो भने आइबीडीपीका शुभम बजगाईं र एनइबीकी अयुष्मा राजभण्डारीलाई साल्युटेटोरियनको सम्मान प्रदान गरियो। उनीहरूले आफ्ना मन्तव्यमा विद्यालयमा बिताएका अनुभव, शिक्षकप्रतिको आभार तथा भविष्यका सपना प्रस्तुत गर्दै समारोहलाई भावनात्मक बनाएका थिए।

विद्यालयकी संस्थापक निर्देशक पवित्रा लिम्बूले स्वागत मन्तव्य दिँदै अभिभावकहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “हामीले ती नानीहरूलाई जिज्ञासु सिक्ने यात्राका रूपमा लिएका थियौं, आज ती नै जिम्मेवार युवा बनेर समाजमा फर्किरहेका छन्।”

समारोहमा शिक्षा, युवा नेतृत्व तथा शैक्षिक संस्थासँग सम्बन्धित प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। तीमध्ये शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, हाइसनका अध्यक्ष रमेश सिलवाल, सहसचिव शिवकुमार सापकोटा, प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी, एन प्याब्सन अध्यक्ष सुवास न्यौपाने, युवा महासंघ अध्यक्ष क्षितिज थेबे, निजी शैक्षिक संस्था संघ नेपालका अध्यक्ष लक्ष्मण केसी, अस्ट्रेलियन शैक्षिक प्रतिनिधि संघ नेपालका अध्यक्ष द्विराज शर्मा, नेपाल अभिभावक संघ अध्यक्ष सुप्रभात भण्डारी, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका सदस्य तथा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, नेपाल मोंटेसरी संघका महासचिव दीपक अग्रवाल, ललितपुर शिक्षा महाशाखाका प्रमुख देवीप्रसाद पौडेल तथा वडा नम्बर १५ का अध्यक्ष सुरेश बहादुर सासी लगायत विभिन्न विद्यालय, संस्था र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

कार्यक्रममा राष्ट्रिय बास्केटबल टिमका कप्तान तथा प्रिमियरका प्रशिक्षक सदीश प्रधानको उपस्थिति पनि उल्लेखनीय रह्यो।

विद्यालयकी शैक्षिक निर्देशक प्रविना थापाले समापन मन्तव्य दिँदै भनिन्, “जहाँसम्म तपाईंको शिक्षा र अवसरले तपाईंलाई लैजाओस्, नेपाल तपाईंको घर हो। एक दिन फर्किनुहोस् र पाएको ज्ञान र सीप आफ्नै देशमा लगानी गर्नुहोस्।”

एनइबी समन्वयक अच्युतप्रसाद लम्साल र आइबीडीपी समन्वयक डा। अमित बडोलाले संयुक्त रूपमा कक्षा २०२५ का दीक्षित विद्यार्थीहरूलाई बिदाइ गर्दै भने, “अब तपाईंहरूको परिचयपत्रमा ‘विद्यार्थी’ होइन ‘पूर्व विद्यार्थी’ लेखिनेछ, तर विद्यालय सधैं तपाईंहरूको घर रहनेछ।”

नेपालकै एक मात्र पूर्ण आइबी कन्टिन्युम स्कूल प्रिमियर इन्टरनेशनल स्कूलले प्राइमरी, मिडल तथा डिप्लोमा कार्यक्रम अन्तर्गतको अन्तर्राष्ट्रिय शैक्षिक श्रृंखलासँगै राष्ट्रिय पाठ्यक्रमलाई समेत समेटेर विद्यार्थीहरूलाई दुईवटा शैक्षिक विकल्प प्रदान गर्दै आएको छ। अनुसन्धानमुखी शिक्षा, अन्तर्राष्ट्रिय दृष्टिकोण, समग्र विकास र सामाजिक जिम्मेवारीमा आधारित यसको शिक्षण दर्शनले नेपाल तथा विश्वका लागि सक्षम, उत्तरदायी र सहानुभूतिशील नेतृत्व विकास गर्न निरन्तर प्रयत्न गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्