काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बजेट कार्यान्वयन र सुपरिवेक्षण मजवुत बनाउने घोषणा गरेका छन् । बुधबार राष्ट्र बैंकमा पदभार ग्रहण गर्दै उनले सरकारले ल्याएको बजेट कार्यान्वयनमा मौद्रिक नीतिमार्फत पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पौडेलले आफ्नो कार्यकालका दुई प्रमुख प्राथमिकता सार्वजनिक गरेका छन् । उनले भने ‘पहिलो, बजेट कार्यान्वयनलाई टेवा पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिनेछ। दोस्रो, वित्तीय प्रणालीको सुपरिवेक्षण क्षमता मजबुत बनाउनेछु – तर अनावश्यक दबाब दिने शैली अपनाइने छैन।’
यसअघि सत्तारुढ गठबन्धनका नेताबीच पटकपटक छलफल भएपछि गभर्नर नियुक्तिमा मंगलबार मात्रै सहमति जुटेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको संवादपछि गभर्नर नियुक्तिको निर्णय अघि बढाइएको हो।
सरकारले गठन गरेको सिफारिस समितिको संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे रहेका थिए। समितिमा सुरूमा रहेका दुई सदस्य – पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्वनाथ पौडेल (नवनियुक्त गभर्नर आफैं) –ले क्रमशः व्यक्तिगत कारण र प्रतिस्पर्धी बन्ने निर्णयका कारण राजीनामा दिएका थिए। मंगलबार सत्तारुढ गठबन्धनबीच सहमति जुटेपछि मंगलबारको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो ।
नयाँ गभर्नर पौडेल लामो समयदेखि आर्थिक नीतिनिर्माण, अनुसन्धान र बजेट निर्माण प्रक्रियामा संलग्न रहँदै आएका व्यक्ति हुन्। अब उनले आफ्नो अनुभवलाई राष्ट्र बैंकको नेतृत्वमा प्रयोग गर्दै अर्थतन्त्र स्थायित्व र सुधारतर्फ ध्यान दिने बताएका छन्।