Logo

बेथिति र सीमित खेलाडीको कब्जामा ‘सेयर बजार’, १५ मिनेटको भारित औसत तोकेपछि ब्रोकरको मिलेमतोमा ‘प्रोक्सी ट्रेड’

बेथिति र सीमित खेलाडीको कब्जामा ‘सेयर बजार’, १५ मिनेटको भारित औसत तोकेपछि ब्रोकरको मिलेमतोमा ‘प्रोक्सी ट्रेड’



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा भइरहेको अनावश्यक ग्याम्बलिङ रोक्न अन्तिम समयको भारित औसत मूल्य तोकेसँगै पुनः अर्को बेथिति सुरु भएको छ । सेयर बजारमा अनावश्यक रुपमा चलखेल गर्दै आएका स्वार्थ केन्द्रित सीमित खेलाडीहरुले पछिल्लो समय सेबोनको उक्त निर्देशनलाई असफल बनाउन प्रोक्सी ट्रेड (ब्रोकरको मिलेमतोमा हुने सर्कुलर ट्रेडभित्रको कारोबार)लाई औजारको रुपमा प्रयोग गर्दै आएका छन् ।

धितोपत्र बोर्डले नेप्सेको कारोबार संचालन विनियमावलीलाई चौथोपटक संशोधन गरेसँगै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले चैतको पहिलो सातादेखि अन्तिम १५ मिनेटको कारोबारलाई आधार मानेर सोहीअनुरुप औसत मूल्य निकालेर भोलिपल्टका लागि कारोबार मूल्य निर्धारण गर्दै आएको छ । जसले गर्दा अन्तिम मिनेटमा कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट लगाएर बजारमा अनावश्यक रुपमा चलखेल गर्ने प्रवृत्ति बन्द भएको थियो । तर, पछिल्लो समय सेयर बजारलाई जुवाघरमा परिणत गर्न चाहने सीमित माफियाहरुले गैरकानूनी मानिएको सर्कुलर ट्रेड र प्रोक्सी ट्रेडलाई प्रश्रय दिएका छन् ।

पछिल्लो समय सेयरको मूल्यमा अनावश्यक चलखेल गर्न गरी भारित औसत मूल्यमा प्रभाव पार्न अन्तिम १५ मिनेटको समयमा ठूलो कित्ता सेयर म्याचिङ गराउने गरेको नेप्सेको तथ्यांकले देखाएको छ । नेप्सेको तथ्यांकअनुसार लगानीकर्ताहरुको मिलेमतोमा दुई जना लगानीकर्ताबीच सेयर म्याचिङ गराएर मूल्यमा चलखेल गर्दै आएका छन् । ‘अहिले सर्कुलर ट्रेड र प्रोक्सी ट्रेड भैरहेको र त्यसमा स्पष्ट रुपमा ब्रोकर कम्पनीको मिलेमतो भएको देखिन्छ,’ ती लगानीकर्ताले भने, ‘यदि बजारमा भैरहेको विकृति रोक्ने हो भने नियामक निकायले छानविन गरी प्रोक्सी ट्रेड हुने एकाउन्टलाई १ देखि २ वर्षसम्मका लागि रोक्का राख्नुपर्छ ।’ यदि नियामकले त्यसरी कारबाही गर्ने हो भने प्रोक्सी ट्रेडको नाममा देखिएको विकृति रोकिने समेत ती लगानीकर्ताले जानकारी दिए ।

यता नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली भने अहिले सर्कुलर ट्रेड भैरहेको हो वा होइन भन्ने विषयमा छानविन भैरहेको बताउँछन् । ‘भारित औसत मूल्य कायम भएपछि अन्तिम समयमा ठूलो कित्ता कारोबार भएको देखिन्छ,’ उनले भने, ‘नेप्सेले सधै नै आफ्नो अनुसन्धानलाई जारी राख्छ तसर्थ यस विषयमा पनि नेप्सेले छानविन अघि बढाएको छ ।’ यदि कसैले बजारलाई प्रभाव पार्न धितोपत्र ऐन भन्दा बाहिर ल्याएर कारोबार गर्छ भने त्यस विषयमा छानविन गरी कारबाहीको दायरामा ल्याउने नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् । ‘बोर्डले पुँजी बजारमा हुने हरेक गैरकानूनी क्रियाकलापको छानविन गरी कारबाहीको दायरामा ल्याउँदै आएको छ,’ उनले भने, ‘अहिले यदि कसैले मूल्यमा प्रभाव पार्ने सर्कुलर र प्रोक्सी ट्रेड गर्छ भने त्यसलाई पनि बोर्डले गहन रुपमा अध्ययन र छानविन गरी कारबाही गर्ने छ ।’

पछिल्लो समय जतिपनि कम्पनीको मूल्य उचालिरहेका छन् ती सबै कम्पनीमा अन्तिम १५ मिनेटमा सर्कुलर र प्रोक्सी ट्रेड गराइएको स्पष्ट देखिन्छ । तर, बजारमा खुलेआम त्यसरी गैरकानूनी रुपमा कारोबार भइरहँदा समेत नियामक मौन बस्नु अर्को लज्जास्पद कुरा भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले जसरी नेप्सेको तथ्यांकमा अन्तिम १५ मिनेटमा दुई ब्रोकर वा एउटै ब्रोकरभित्र ठूलो कित्ता सेयर कारोबारको नाममा म्याचिङ गराएका छन् त्यसमा नेप्से र सेबोनले खुला आखाँले देख्न सक्छन,’ ती लगानीकर्ताले भने, ‘बजारमा खुलेआम गैरकानूनी क्रियाकलाप भैरहँदा त्यसलाई रोक्न नसक्नु दुःखको विषय हो भने यसमा नियामकको लचारीपन देखिन्छ ।’

यसरी हुन्छ प्रोक्सी ट्रेड

कुनै पनि प्रोक्सी ट्रेडमा सम्बन्धित ब्रोकर कम्पनीको प्रत्यक्ष संलग्नता रहन्छ । अन्तिम समयमा मूल्यमा चलखेल गर्न ठूलो कित्ता सेयर कारोबार गर्नुपर्ने भएकाले ब्रोकरले स्वार्थ केन्द्रित लगानीकर्तासँगको मिलेमतोमा आफुले पाउने कमिशनलाई मिनाहा गरिदिएर प्रोक्सी ट्रेड गराउँछन् । उदाहरणमा लागि अहिले लगानीकर्ताले तिर्ने ब्रोकर कमिशनको १ सय प्रतिशत रकममध्ये नेप्से र सेबोनले २८ प्रतिशत रकम पाउँछन् भने ब्रोकरले बाँकी ७२ प्रतिशत रकम पाउँदै आएका छन् । तर, पछिल्लो समय ब्रोकरले स्वार्थ केन्द्रित लगानीकर्तासँगको मिलेमतोमा आफुले पाउने कुल ब्रोकर कमिशनमध्ये ७२ प्रतिशत रकमलाई मिनाहा गरी मूल्यमा चलखेल गरी गैरकानूनी रुपमा कमाउधन्दाको नयाँ बाटो समातेका छन् ।

प्रोक्सी ट्रेडमा ब्रोकर र लगानीकर्ताको प्रत्यक्ष संलग्नता रहने हुनाले त्यसलाई निमायक निकायले तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउन सक्ने सम्बद्ध विज्ञहरु बताउँछन् । प्रोक्सी ट्रेड हुँदा सीमित खाता र ब्रोकरहरु प्रयोग भएका हुन्छन्,’ एक लगानीकर्ताले भने, ‘सेबोन र नेप्सेले छानविन गरी त्यस्ता कारोबारमा संलग्न हुने लगानीकर्ताको खाता रोका गरी ब्रोकरलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्