काठमाडौँ । आइएमई हस्पिटालिटिले आजदेखि सञ्चालनमा आएको यस होटल सँगै पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । केही महिना अघिमात्र माननीय मन्त्रीज्यूले नै बागलुङमा इला होटलको औपचारिक उद्घाटन गर्नुभएको थियो । यसका साथै हामीले काठमाडौँको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइटमा लेक साइट रिट्रिट सञ्चालन गरिरहेका छौँ ।
हामीलाई विश्वास छ मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै हो । त्यसैअनुसारका पर्यटन पूर्वाधारहरु निर्माण गर्ने क्रममा हामीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजनाको सुरुवात गरेका हौँ । हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । आजको यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम भइरहेको छ ।
माननीय मन्त्रीज्यू, मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औषत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रतिदिन झन घट्दोक्रममा देखिन्छ । विदेशी पर्यटकहरु औषत १२ दिन नेपाल बस्ने र दैनिक औषत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क हामीसँग छ । हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटक आउने गर्छन ।
त्यसैले त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ भन्नेमा हाम्रो पूर्ण विश्वास छ । हामीसँग अलौकिक प्राकृतिक सम्पदाहरु छन्, जुन हामीले प्राप्त गरेका बरदान हुन । यसकारण पनि पर्यटन, प्रकृति र पर्यावरणका क्षेत्रमा हामीले गर्नसक्ने सम्भावनाहरु असंख्य छन भन्दा फरक पर्दैन । त्यसमा हामीले हाम्रो भिजन सहितको इच्छाशक्ति मिसाउनुपर्छ अनि प्रविधि र पुँजी जोड्न सक्नुपर्छ । यसबाट साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ ।
यो मुलुकको निजी क्षेत्र नै विकास र परिवर्तनमा मिराकल ल्याउन सक्षम छ भन्ने कुराको पुष्टि त हामीले पटकपटक गर्दै आएकै छौं ।
माननीय मन्त्रीज्यू,उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर यसका लागि हामीकहाँ भने लगानीकर्ताहरुलाई आह्वान गर्ने मात्र काम गरिएको छ भन्ने मलाई लाग्दछ । अब मौखिक रुपमा गरिने यस प्रकारका आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।
सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । म पुनः दोहोर्याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ । पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ ।
पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ । यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ । आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन र ?
सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ ।
चितवन, तनहूँ र नवलपुरको यो संगम नेपालको एक धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी हो । यतिखेर हाम्रा सामुन्ने रहेको मौलाकालिका मन्दिरको करिब साढे चार सय वर्ष पुरानो इतिहास छ । हाम्रो दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्मावलम्बीहरुको पवित्र धाम हो । यतिखेरै हाम्रै वरिपरिका नारायणी, देवघाट, त्रिवेणीजस्ता देवभूमि र तपोभूमिको महत्वको बयान गर्न म असमर्थ छु, मेरो क्षमताले पुग्दैन । तर पनि हाम्रा यी सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउनका लागि केबलकार र यो नयाँ पर्यटकीय संरचनाले सघाउ पुराउने छ भन्ने अपेक्षा भने गर्न सक्छु ।
किनभने ऐतिहासिक एवं आध्यात्मिक महत्व बोकेका यी सम्पदाहरुलाई जति धेरै मानिसको पहुँच पुग्नेगरी संरचना निर्माण गरिदियौँ, त्यति नै यिनको मान र महत्व पनि धेरै भन्दा धेरै फैलिन पुग्दछ ।
मलाई लाग्छ, आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व रहेको यस्तो पुण्यभूमिमा जति धेरै पर्यटकीय संरचनाहरु निर्माण गरे पनि पुग्दैन । यसकारण पनि हामीले यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगम स्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न गरेका हौँ र आजको यो संरचना सम्भव भएको हो । प्राकृतिक सौन्दर्यले आफैँ सजिएको यस सुन्दर भूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं, यो हाम्रो प्रतिबद्धता हो ।
मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति हुन । नवलपुरको गहनाका रुपमा निर्मित यो संरचनालाई हामीले स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारेका छौँ र उहाँहरुको अधिकतम् सहभागीता गराइरहेका पनि छौँ । केबलकार परियोजनाको प्रारम्भिक प्रयासका रुपमा रहेको चन्द्रागिरि छोटो समयमै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनिसकेको कुरा त्यहाँ पुग्ने पर्यटकबाट हामीले सुन्ने गरेका छौँ । यसबाट देशको अर्थतन्त्र र स्थानीयको जीवनस्तर उकास्न पुगेको योगदानका बारेमा पनि मैले यहाँ भनिरहनु पर्दैन, सबै अवगत नै छ ।
आज उद्घाटन भएको यस आयोजना निर्माणमा हामीलाई सहयोग गर्नुहुने संघ, प्रदेश तथा स्थानीय सरकार, राजनैतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत अन्य सबै सरोकारवालाहरु प्रति धन्यवाद व्यक्त गर्दछु । म आफू पनि गण्डकी प्रदेशको बासिन्दाको हैसियतले यस पवित्र जन्मभूमिमा यस प्रकारको सेवा गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । जाँदाजाँदै जहाँ ढुंगा ढुंगामा देवताको बास छ भन्ने एउटा नेपाली गीत मेरो मनभित्र गुञ्जिएको छ । मलाई लाग्छ, देवताको बास रहेका ती हरेक ढुंगासम्म हरेक मानिसको सहज पहुँच पुर्याउनका लागि हरेक ठाउँमा कुनै न कुनै प्रकारको पर्यटन पूर्वाधारको आवश्यकता छ । त्यसैले यो गीतजस्तै मलाई पनि हर समय जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ भनेर गुनगुनाउन मन लाग्दछ । कार्यक्रममा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नु भएकोमा माननीय मन्त्री ज्यू र सबै अतिथि ज्यूहरुलाई पुनः स्वागत गर्दै विदा लिन्छु ।
धन्यवाद । (नवलपुरको मौलाकालीमा निर्मित इला होटलको समुद्घाटन कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गर्नुभएको मन्तब्य)