Logo

नौ महिनामा १ खर्ब ६५ अर्बको लगानी प्रतिवद्धता, विदेशीभन्दा स्वदेशी लगानीकर्ता सक्रिय

नौ महिनामा १ खर्ब ६५ अर्बको लगानी प्रतिवद्धता, विदेशीभन्दा स्वदेशी लगानीकर्ता सक्रिय



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउन–चैत्र) सम्म नेपालमा स्वदेशी लगानीकर्ताहरुले १ खर्ब ६५ अर्ब बढीको लगानी प्रतिवद्धता जाहेर गरेका छन् । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ सय ५० बढी परियोजनामार्फत नेपाली लगानीकर्ताहरुले उक्त लगानीको प्रस्ताव गरेका हुन् ।

laxmi

पछिल्लो समय लगानीयोग्य रकमको अभाव रहेको बताउँदै आएका लगानीकर्ताहरुले ९ महिनाकै अवधिमा साढे १ खर्ब बढीको लगानी प्रस्ताव गर्नु सकारात्मक पक्ष रहेको विभागले जानकारी दिएको छ ।

विभागका सूचना अधिकारी अर्जुनसेन ओली बजारमा लगानीयोग्य रकमको संकुचनाका बीच पनि लगानी प्रस्ताव उल्लेख्य आउनु सकारात्मक रहेको बताउँछन् । यद्यपि यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने केही कम हो । गत आवको यही अवधिमा स्वदेशी लगानीकर्ताहरुले १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता जाहेर गरेका थिए ।

चालु आवको ९ महिनामा नेपालमा ठूला प्रकृतिका ३६, मझौला २७ र साना प्रकृतिका २ सय २३ परियोजनामा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । यसरी चालु आवमा सरकारले लिएको लक्ष्यमा साना परियोजनाको संख्या पुगेपनि ठूला र मझौला परियोजनाको संख्या भने अझै नपुगेको देखिन्छ । सरकारले चालु आवमा ८० ठूला र ८५ मझौता प्रकृतिका परियोजनामा लगानी प्रस्ताव ल्याउने लक्ष्य निर्धारण गरेको थियो भने साना २ सय परियोजना दर्ता गर्ने लक्ष्य लिएको थियो ।

यसरी आएको लगानीबाट २० हजार १ सय २७ जनाले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ । यसै अवधिमा विदेशी लगानीकर्ताहरुले भने जम्मा ३० अर्ब १० करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता जाहेर गरेका छन् । यो स्वदेशी लगानी प्रस्तावको तुलनामा १ खर्ब ३५ अर्बले कम हो ।

सरकारले चालु आर्थिक बर्षभरी ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता ल्याउने लक्ष्य निर्धारण गरेको थियो । तर, चालु आवको ९ महिना वितिसक्दा पनि सरकारको लक्ष्यमा पुग्न अझै करिव ८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता कम भएको देखिन्छ ।

यता चैत महिनामा मात्रै पनि १० अर्ब ५९ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । यो प्रतिवद्धता करिव २० परियोजनामार्फत आएको हो । यसै अवधिमा विदेशी लगानी भने जम्मा ९६ करोड रुपैयाँ बराबरको मात्रै आएको देखिन्छ । यसरी स्वदेशीको तुलनामा विदेशी लगानीमा ठूलो अन्तर देखिँदै आएपछि सरकारले केही बर्षको फरकमा नेपालमा लगानी सम्मेलनका आयोजना गर्ने गरेको छ । सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजनाको तयारी पूरा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL