Logo

मेलम्चीको पानी सडकमा जताततै चुहावट : धारामा पानी नआएको उपभोक्ताको गुनासो, मर्मत गर्न समन्वयको खाँचो

मेलम्चीको पानी सडकमा जताततै चुहावट : धारामा पानी नआएको उपभोक्ताको गुनासो, मर्मत गर्न समन्वयको खाँचो



काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकहरुमा जताततै पानी बगिरहेको देखिन्छ । खासगरी बेलुकातिर वितरण गरिने पानी काठमाडौंबासीका घरघरमा पुग्नुअघि सडकमा चुहिन्छ । पछिल्लो समय मात्रै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंभर ७ देखि ८ सय स्थानमा यस्तो चुहावट भइरहेको छ । जसले धेरै उपभोक्ताको धारामा पानी नआएको गुनासो पनि बढदै गएको छ ।

laxmi

मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरणका लागि नयाँ पाइप सञ्जाल विच्छ्याएपनि केही स्थानहरुमा पुरानै सञ्जालमार्फत पानी वितरण भईरहेको छ । यहि पुरानो सञ्जालमार्फत र नयाँ परीक्षण गरिएका स्थानमा पानी चुहावट भएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उनी काठमाडौंका सडकमा पानी विभिन्न ३ कारणले चुहिने गरेको बताउँछन् ।

राईका अनुसार पहिलो कारण केयुकेएलको पुरानो पाइप संजालमार्फत पानी वितरण गर्दा पुराना भइसकेको पाइप र विग्रेका जोइन्टहरुबाट पानी चुहिने गरेको छ । यस्तै नयाँ सञ्जालमा पनि हाल पानी हालेर वितरण गर्ने गरिएकाले कहीँ त्रुटि भएका स्थानहरुमा पानी चुहिने गरेको छ । यस्तै तेस्रो कारणमा भने पानी वितरणका लागि विच्छ्याइएका पाइप सञ्जालमा तेस्रो पक्ष अर्थात बिजुलीको तार भूमिगत गर्ने, सडक खन्नेलगायत कार्य गर्नेबेलामा पाइप संरचनामै असर पर्दा पानी चुहिने उनी बताउँछन् । हालसम्म यस्ता समस्या ७ देखि ८ सय स्थानमा भेटिएको र धेरैजसो स्थानमा मर्मत गरिसकिएको उनले बताए । ‘हो काठमाडौंका सडकमा मेलम्चीको पानी आउँदा चुहिने गरेको छ, तर, चुहिएको थाहा पाउनेवित्तिकै हामीले त्यसको मर्मतको काम पनि अघि बढाउने गरेका छौं’ उनले भने ।

उनका अनुसार केही बाँकी रहेका स्थानमा भने सडक खन्ने अनुमति नपाउँदा र काममा झन्झट हुँदा अझै मर्मत गर्न सकिएको छैन । केही स्थानमा पानी चुहिएको स्थानमा तत्काल मर्मत गर्नलाई सडक विभाग वा सम्बन्धिन सडक डिभिजनसँग अनुमति लिनुपर्दछ । यस्तो बेलामा सम्बन्धित निकायहरुले समयमै सडक खन्ने अनुमति नदिँदा महिनौंसम्म पानी चुहिने समस्या देखिरहने उनले बताए । ‘खासगरी महानगर क्षेत्रमा दिउँसो काम गर्न पाईँदैन, काम गरेपनि राति गर्ने हो,’ उनले भने, ‘त्यसमाथि सम्बन्धित निकायले काम गर्ने अनुमति नै नदिँदा हाल ३ देखि ४ सय स्थानमा पानी चुहिने समस्या ज्युँका त्युँ छ ।’

काठमाडौं उपत्यकामा खानेपानीको माग हाल ४७ करोड लिटर बढी छ । तर, मेलम्चीसहितका आयोजनाबाट २६ करोड लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । यही पानी वितरणका लागि विभिन्न निकायले विच्छ्याएका पाइप संजाल पनि कमजोर हुँदा काठमाडौंका सडकमा पानी चुहिएको देख्न सकिन्छ । यस्तो चुहावटले सडक त विगार्छ नै उपभोक्ताको घरसम्म पुग्ने पानी पनि गुणस्तरीय हुँदैन् ।

यसैगरी हाल आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएका खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षणलाई तीव्रता दिने काम गरिरहेको छ । यसरी परीक्षण गरी मर्मतसमेत गरिसकिएका सञ्जालहरु भने निर्देशनालयले केयुकेएललाई हस्तान्तरण गर्ने गरेको छ । यसैअनुरुप हालसम्म १४ वितरण सञ्जालको कुल ३ सय ५० किमी खानेपानी वितरण प्रणालीको स्वामित्व केयुकेएललाई हस्तान्तरण गरिसकेको छ । काठमाडौँ उपत्यकामा बिच्छ्याइएका कूल १ हजार १० किमी वितरण सञ्जालमध्ये हस्तान्तरण हुन बाँकी रहेको र करिब ६६० किमी वितरण सञ्जालको अन्तिम परीक्षण गर्ने कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL