Logo

जहाज खरिद र हवाई टिकटमा भ्याट हटाउन पर्यटन मन्त्रीको लबिङ, भने-टिकटमा विदेशीलाई ठगेर पर्यटनको विकास हुँदैन

जहाज खरिद र हवाई टिकटमा भ्याट हटाउन पर्यटन मन्त्रीको लबिङ, भने-टिकटमा विदेशीलाई ठगेर पर्यटनको विकास हुँदैन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले देशमा पर्यटक भित्र्याउन हवाई टिकटमा लागेको भ्याट र विदेशीले उडान भर्दा दोब्बर शुल्क लाग्ने व्यवस्था हटाउनु पर्ने बताएका छन्। ‘सरकारले राजस्व उठाउनले नाममा हवाई टिकटमा समेत भ्याट लगाउँदा त्यसको प्रत्यक्ष असर पर्यटक आवागमनमा परेको छ,’ नक्सालमा होटल होलिडे इनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘यदि देशमा जतिसक्दो विदेशी पर्यटक भित्र्याएर देशको आर्थिक विकास गर्ने हो भने हवाई टिकटमा लागेको भ्याट र विदेशी पर्यटकले आन्तरिक हवाई उडानमा तिर्नुपर्ने दोब्बर दस्तुर तत्काल हटाउनु पर्छ ।’

laxmi

विदेशी पर्यटकलाई आन्तरिक हवाई उडानमा नेपालीलाई भन्दा दोब्बर दस्तुर लिएर एयरलाइन्स कम्पनीहरुले ठग्ने काम गरेको भन्दै त्यसलाई तत्काल हटाउनुपर्ने बताए । ‘देशको आर्थिक विकासका लागि पर्यटन र जलविद्युत मुख्य हुन तर विदेशी पाहुनालाई ठगेर पर्यटनको विकास हुँदैन,’ उनले भने, ‘हवाई टिकटमा लागेको भ्याट हटाउन र विदेशीलाई एयरलाईन्स कम्पनीहरुले लिँदै आएको दोब्बर दस्तुर हटाउन प्रधामन्त्रीसँगै छलफल गरिरहेको छु सम्भवत यी विषय चाँडैनै समाधान हुनेछन् ।’

सरकारले राजस्व बढाउनले लक्ष्य अनुरुप चालू आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा समेत भ्याट लागू गरेको थियो । यसैगरी उनले एयरलाईन्स कम्पनीहरुले विमान खरिद गर्दा लाग्ने भ्याटसमेत हटाउन पहल गरिएको जानकारी दिए । ‘एउटै विमान खरिद गर्न अर्बौं रुपैयाँ पर्छ भने एउटा जहाज खरिदमा व्यवसायीले करिव अर्ब रुपैयाँ नै भ्याट बुझाउनुपर्ने हुँदो रहेछ,’ उनले भने, ‘यसरी नेपालको पर्यटन महंगो हुन्छ भने व्यवसायीले नयाँ विमान खरिद गर्न सक्दैनन् तसर्थ त्यसलाई सहज र सस्तो बनाउन भ्याट हटाउन प्रस्ताव अघि बढाएको छु ।’

साथै उनले होटल भनेको सहरको सस्कृतिका साथै देशको ऐना भएको र विदेशी पाहुँना आउँदा सोही अनुरुपको सेवा सुविधा दिनसमेत ग्रह गरेका छन् । ‘हामीले होटलका साथै अवस्था र व्यवस्था सुधार गर्नुपर्नेछ तसर्थ होटलमा पाहुना पस्दा देशको मुहार झल्किनुपर्छ,’ उनले भने, ‘अबका दिनमा नेपाली तारे होटलहरुले स्थानीय खानालाई परिकार बनाएर विदेशी आकर्षण गर्न सक्नुपर्छ ।’

यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अहिलेको अवस्थामा नेपालमा पर्यटक भित्र्याएर देशलाई आर्थिक विकासको गतिमा अघि बढाउन सरकारले नेपाल एयरलाईन्समार्फत नयाँ जहाज भित्र्याएर नयाँ नयाँ गन्तव्यमा उडान भर्नुपर्ने बताए । ‘अहिले सरकारले भैरहवा र पोखरामा नयाँ विमानस्थल बनासकेको छ,’ उनले भने, ‘अब भैरहवाबाट वैदेशिक रोजगारीमा जाने र पोखरामा विदेशी पर्यटक भित्र्याउने गरी दैनिक २ वटा उडान राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL