Logo

हल्लामात्रै बन्यो वैदेशिक लगानी, प्रतिवद्धताको १० प्रतिशत रकममात्रै नेपाल भित्रिदै

हल्लामात्रै बन्यो वैदेशिक लगानी, प्रतिवद्धताको १० प्रतिशत रकममात्रै नेपाल भित्रिदै



काठमाडौं । नेपालमा सधैजसो निकै महत्वका साथ चर्चा हुनेगरेको विदेशी लगानी हल्लामात्रै सावित भएको छ । सरकारी नीति र अन्य विभिन्न कारणले नेपालमा आशा गरेअनुरुप वैदेशिक लगानी भित्रिन नसकिइहेको सन्दर्भमा पछिल्लो समय विदेशी लगानी प्रतिबद्धतमा पनि लगातार गिरावट आइरहेको छ ।

laxmi

नेपालमा चालु आर्थिक बर्षमा लगानीमा ठूलो गिरावट आएको हो । चालु आर्थिक बर्षको १० महिना अर्थात गत साउनदेखि बैशाख मसान्तसम्म नेपालमा ४५ अर्ब ५ करोड ७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो गत आर्थिक बर्ष २०७८/७९ को तुलनामा केही कमी भएपनि नेपाल भित्रिने रकममा भने ठूलो गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको १० महिनामा जम्मा ६ अर्ब १६ करोड २९ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी भित्रिएको छ । यो यसै अवधिमा उद्योग विभागमा आएको वैदेशिक लगानी प्रतिवद्धताको जम्मा ३८ अर्ब ८८ करोड रुपैयाँले कम हो । यो तथ्यांकले नेपालमा वैदेशिक लगानी प्रतिवद्धता आएपनि लगानी भने जम्मा १० प्रतिशतको हाराहारीमा मात्र भित्रिएको देखाएको छ । यति मात्रै होइनन नेपालमा वैदेशिक लगानी शीर्षकमा भित्रिने रकम गत आर्थिक बर्षको यही अवधिको तुलनामा ६४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार गत आर्थिक बर्षको यही अवधिमा नेपालमा १७ अर्ब ८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिसकेको थियो ।

यसरी पछिल्लो समय वैदेशिक लगानी भित्रिने रकममा ठूलो गिरावट आउँदा फिर्ता हुने रकम भने ३ गुणाले बढेको देखिन्छ । नेपालमा विभिन्न विदेशी कम्पनीहरुले नयाँ लगानी, सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत लगानी भित्र्याउँछन् ।

सोही अनुसार आफ्नो कम्पनीले कमाएको रकममार्फत रोयल्टी र लाभांशमार्फत फिर्ता लैजान्छन् । सोही फिर्ता हुने रकम उद्योग विभागबाट विदेशी कम्पनीहरुले बैशाखसम्म करिव १६ अर्ब रुपैयाँ बराबर फिर्ता लैजाने सिफारिस पाएका छन् । यता राष्ट्र बैंकबाट भने यसै अवधिमा १ अर्ब ८० करोड रुपैयाँ लगानी फिर्तावापत बाहिरिएको उल्लेख छ । यो गत आवको यही अवधिको तुलनामा ३ गुणा बढी हो । यसरी नेपालमा लगानीवापत भित्रिने पैसाभन्दा बाहिरिने रकममा वृद्धि हुँदै गएको छ । जसको असर नेपालको भुक्तानी सन्तुलनमा पर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

११ महिनामा ५० अर्बको लगानी प्रतिवद्धता

उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ११ महिना (साउनदेखि जेठसम्म) करिव ५० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार यस अवधिमा नयाँ वैदेशिक लगानी ३४ अर्ब ५८ करोड, सेयर पर्चेज र सब्सक्रिप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत १५ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यसरी यस अवधिमा ४ सय कम्पनीमार्फत आएको उक्त लगानी प्रतिवद्धतासँगै १४ हजार ६ सय १३ जनाले रोजगारी पाउने बताईएको छ ।

विश्वभर नै कमी

नेपालमा मात्रै नभएर पछिल्लो समय विश्वभर नै वैदेशिक लगानीमा कमी देखिएको छ । भारत, अमेरिकासँगै चीनमा समेत वैदेशिक लगानीमा अघिल्ला बर्षहरुको तुलनामा गिरावट आएको त्यहाँका तथ्यांकहरुले देखाएका छन् । महामारी पछि सुधार हुँदै गएको विश्व अर्थतन्त्र एकाएक रुस–युक्रेन युद्धको संकटले मन्दीतर्फ उन्मुख छ ।

विश्वका ठूला अर्थशास्त्रीहरुले यसपटक मन्दी विश्व अर्थतन्त्र लामो समय टिक्नेसमेत घोषणा गरिसकेका छन् । यसैको असर भनौ विश्वभर नै वैदेशिक लगानी सन २०२२ मा २४ प्रतिशत अर्थात झण्डै १३ खर्ब डलरले ओरालो लागेको ओइसीडीले बताएको छ । यसको असर हाल विश्वभर हुने लगानीमा पनि देखिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL