Logo

‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका’

‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका’



काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम’मा अधिकांश वक्ताहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सरकारले निर्माण क्षेत्रका लागि समयमा रकम भुक्तानी नगर्दा व्यवसायी मारमा परेको बताए । “ठेक्का पार्नका लागि कम रकम राखेर टेण्डर हालिन्छ, त्यही रकम पनि समयमा पाइँदैन, त्यसकारण व्यवसायी मर्कामा परेका हुन्”, उनले भने ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए । “पूर्वाधार विटमा कलम चलाउने सञ्चारकर्मीलाई मर्यादित र व्यवस्थित बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रेस काउन्सिलले लिएको छ”, उनले भने ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको र यस क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेरमात्र समचार सम्प्रेषण गर्न आग्रह गरे ।

पूर्वाधारविज्ञ प्रा डा राजेन्द्र अधिकारीले आयोजनाको समय पनि थप नगर्ने र आयोजना सकिनुपूर्व त्यसलाई खबरदारी गर्ने परिपाटी बनाउन सके धेरै आयोजना समयमै पूरा हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्
MBL