Logo

अब गुगल म्यापबाटै काठमाडौंमा सार्वजनिक शौचालय भेटिने, होटल र रेष्टुरेन्टका शौचालय निशुल्क

अब गुगल म्यापबाटै काठमाडौंमा सार्वजनिक शौचालय भेटिने, होटल र रेष्टुरेन्टका शौचालय निशुल्क



काठमाडौं । गत शनिबार धादिङकी स्मृति कार्की सुन्धारा आसपास घुम्न निस्केकी थिईन । धरहरा आसपास, टुँडीखेललगायत घुम्दाघुम्दै ट्वाईलेट च्याप्यो । चारैतिर खुल्ला स्थान भएकाले न साथिलाई भन्न सकिन् न कतै गएर गर्न नै सकिन् । अप्ठ्यारै भएपपछि नजिकैको काठमाडौं मलमा मन अमिलो र असजीलो मान्दै पसिन ।

स्मृति कार्कीकै जस्तो समस्या परेको सुनाउँछन् काभ्रेका तिलक भण्डारी । उनी पनि केहि दिन अघि सोही क्षेत्रमै घुम्न निस्केका थिए । उनलाई पनि स्मृतिकैजस्तो पीडा पर्यो । चारैतिर हेर्दा कतै शौचालय नदेखिएपछि उनले पनि असजिलो मान्दै काठमाडौं मलभित्रै छिर्नुपर्यो । मलभित्र छिर्नु अप्ठ्यारो त होइन तर, कुनै वस्तु नै खरिद नगर्नेगरी यत्तिकै पस्न असजिलो लाग्ने गरेको अनुभव उनको छ ।

यी दुई त प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौंको चक्रपथ भित्रकै कुरा गर्दा पनि नागरिकलाई सार्वजनिक शौचालयको व्यवस्था नहुँदा मर्का पर्ने गरेको छ । अझ काठमाडौं महानगरपालिकाको कार्यालय नै सुन्धारा आसपास छ । त्यही वरिपरी नै सार्वजनिक शौचालय नहुँदा महानगरवासीहरुले पीडा भोग्नुपरेको गुनासो बढ्दा छन् ।

सोही गुनासाहरुको सम्बोधन गर्नका लागि भन्दै काठमाडौं महानगरपालिकाले अब गुगल म्यापमै देखिने गरी सार्वजनिक शौचालयको व्यवस्था गर्ने निर्णय गरेको छ । पहिलो चरणमा चाँडै यो निर्णयलाई कार्यान्वयन गर्ने गरी काठमाडौंमा संचालित चेन रेष्टुरेन्ट तथा होटलका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने र त्यसपछि सुधार गर्दै जाने महानगरपालिकाको योजना छ ।

सुन्धारा वरिपरि आकाशे पुलमुनि बनाएका शौचालयहरुमा सेवाग्राहीले शौच गरेवापत पैसा तिर्नुपर्छ । पैसा तिरेर पनि सफा र स्वच्छ तरिकाले शौच गर्न नपाइने गुनासो पनि उत्तिकै छ । धेरैजसो सेवाग्राहीले सुन्धारा वरिपरिका सार्वजनिक शौचालय गन्हाएर छिर्नै नसकिने अवस्था रहेको गुनासो गर्ने गरेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्य बताउँछन् । उनका अनुसार महानगरवासीको गुनासो सम्बोधनका लागि भनै आजैदेखि काठमाडौंका चेन रेष्टुरेन्टको बाहिर बत्ती र होर्डिङ बोर्ड राखेर सार्वजनिक शौचालयको व्यवस्था गर्न लागिएको हो ।

त्यसपछिका दिनमा काठमाडौंका विभिन्न सरकारी निकायहरुसँग अलिअलि जग्गा मागेर, अन्य खाली स्थानमा पनि जग्गाको बन्दोवस्त गरेर सार्वजनिक शौचालयको व्यवस्था गर्न लागिएको छ । यसका लागि काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा नै नव निर्वाचित मेयर बालेन्द्र शाहले गरेको प्रस्ताव पारित भइसकेको छ । आगामी दिनमा बन्ने यस्तो शौचालयहरुलाई गुगल म्यापमै देखिने गरी व्यवस्था गर्न लागेको मेयर बालेन्द्र शाह बताउँछन् । ‘काठमाडौं बासीको सबैभन्दा ठुलो समस्या भनेकै सार्वजनिक शौचालय रहेछ,’ उनले भने, ‘अब हामी गुगल म्यापमै देखिनेगरी सार्वजनिक शौचालयको निर्माण गर्नेछौं, जसले काठमाडौंबासीको गुनासो सम्बोधन हुनेछ ।’

विदेशका विकसित देशहरुमा यो अभ्यास पुरानो भइसकेको भएपनि नेपालमा भने नयाँ प्रयास गर्न लागिएको हो । यस्तो अभ्यासले यहाँनेर पब्लीक ट्वाईलेट छ, यहाँ जाँदा नजिक पर्छलगायतका सूचना दिनेछ । सन २०१९ मा भारतका मात्रै ५७ हजार सार्वजनिक शौचालयलाई गुगल म्यापमा समावेश गरिएको थियो ।

नेपालमा पनि पछिल्लो समय बढ्दै गएको इन्टरनेटको उपयोगले सार्वजनिक शौचालयलाई गुगल म्यापमा राख्दा सेवाग्राहीलाई सजिलो हुने अपेक्षा गरिएको छ । यसका लागि अब काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा नै सार्वजनिक शौचालय बनाउने प्रक्रिया थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL