Logo

फोरजीले दूरसंचार सेवा नै धरापमा, कर्णालीका ग्रामीण क्षेत्रमा टेलिकमको सेवा नाजुक

फोरजीले दूरसंचार सेवा नै धरापमा, कर्णालीका ग्रामीण क्षेत्रमा टेलिकमको सेवा नाजुक



काठमाडौं । पछिल्ला केहीदिन यता कर्णालीको माथिल्लो भेगका ५ जिल्लाका स्थानीयले दूरसंचार सेवाको सहज उपयोग गर्न पाएका छैनन् । गएको ३ महिनादेखि कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा दूरसंचार सेवाको अवस्था नाजुक छ । बल्लतल्ल दूरसंचार सेवाको अनुभव गर्न पाएका यस क्षेत्रका वासिन्दाले दूरसंचार सेवा १० बर्षअघिको जस्तै भएको गुनासो गर्ने गरेका छन् । ‘प्रायः फोन लाग्दैन, कम्तीमा ३ पटकसम्म प्रयास गर्दा लागिहाले पनि कुरा गर्दागर्दै काटिन्छ’, कालीकोट पचालझरना गाउँपालिका निवासी रमेस खड्का बताउँछन् ।

laxmi

उनका अनुसार पछिल्लो ३ महिनादेखि न दिउँसो इन्टरनेट चल्छ न भ्वाईस सेवा नै । करिव १० बर्षअघि निश्चित सेवाग्राहीका लागि मात्रै पुग्ने गरी जडान गरिएको रेडियो लिंकको क्षमताले हाल धान्न नसकेपछि यस्तो अवस्था आएको नेपाल टेलिकम जिल्ला कार्यालय कालीकोटका कार्यालय प्रमुख प्रेमसिंह विष्ट बताउँछन् । उनका अनुसार पछिल्लो समय सेवाग्राही बढेसँगै सेवा विस्तारमा ढिलाई हुँदा ३ महिनादेखि कर्णालीका पाँचै जिल्लामा दूरसंचार सेवा राम्रोसँग उपभोग गर्न नसकिएको अवस्था छ ।

कालीकोटमा हालसम्म अप्टिकल केवलमार्फत दूरसंचार सेवा पुगिसकेको छैन, त्यसको विकल्पमा रेडियो लिंक जडान गरी सेवा प्रदान गरिरहेका क्षेत्रहरुमा हाल गम्भीर समस्या उत्पन्न भएको छ । नेपालगंज क्षेत्रीय कार्यालयबाट सुर्खेतको हर्रे, दैलेखको रानीभत्ता र कालीकोटको भर्ता हुँदै माथिल्लो भेगका ५ जिल्लामा पुग्ने कनेक्सनमा अप्ठ्यारो स्थिति पैदा भएको उनी बताउँछन् ।

फोरजी प्रमुख कारण

नेपाल टेलिकमले गत बर्ष नेपालभरका सबै स्थानमा फोरजी सेवा पुर्याउने भन्दै काम अघि बढाएको छ । सोहीअनुसार शहरदेखि ग्रामीण भेगसम्मका सबै स्थानका टावरहरुमा फोरजीका लागि आवश्यक उपकरणहरु जडान गरिएको छ । औपचारिकतामात्रै पुरा गर्न गरिएको यो कार्यले हाल नेपालभरका ग्रामीण भेगको दूरसंचार सेवामै समस्या उत्पन्न भएको नेपाल टेलिकम जुम्ला कार्यालयका निमित्त कार्यालय प्रमुख पदमराज महतारा बताउँछन् । उनका अनुसार पछिल्लो समय फोरजी नेटवर्क विस्तार भईसकेपछि दूरसंचार सेवामा गतिरोध आउन थालेको छ ।

फोरजी आइसकेपछि बढी ब्यण्डविथ खपत हुँदा भ्वाईस सेवामा अवरोध सिर्जना गर्ने भएकोे उनले बताए । जसको असर कालीकोट, जुम्लालगायत ५ जिल्लामा परेको छ । ‘फोरजी उपकरणहरु त जडान गरियो तर, सोही अनुसार नेटवर्क क्षमता बढाउन नसक्दा हाल यो समस्या व्यहोर्नुपरेको छ’, उनले भने, ‘यो समस्याको समाधानका लागि पहल भएको छ केहीदिनमा समाधान होला ।’

फोरजी दिनभर बन्द राती खुला

फोरजी नेटवर्कका कारण दैनिकजसो भ्वाईस सेवा नै अवरुद्ध भएपछि क्षेत्रीय कार्यालय नेपालगंजले भने उक्त क्षेत्रमा फोरजी सेवा दिनमा बन्द गरिदिने गरेको छ । यसरी दिउँसो फोरजी बन्द हुँदा पनि भ्वाईस सेवामा सुधार भने नआएको बताइन्छ । ‘तर, मन बुझाउन मात्रै फोरजी सेवा दिनमा बन्द र रातमा खुला गर्ने गरेको अवस्था छ,’ कालीकोट कार्यालयका कार्यालय प्रमुख प्रेम सिंह विष्ट बताउँछन् । उनका अनुसार नेपाल टेलिकमले उपलब्ध गराएको फोरजी सेवा दिनभर चलाउन पाईँदैन । तर, राती भने बेलुका ८ बजेदेखि विहान १० बजेसम्म उपयोग गर्न पाईन्छ । फोरजीको नाम भएपनि सेवा भने टुजी जस्तो रहेको उनको अनुभव छ । ‘राती आउने फोरजी सेवा पनि भन्नुमात्रैको फोरजी हो,’ उनले भने, ‘खास सेवा टुजी जस्तै छ ।’

नेटवर्क विस्तारको काममा ढिलाई

गत ३ महिनायता आएको समस्या समाधान गर्न सबै जिल्लाका कार्यालयहरुबाट पहल भएपनि हालसम्म काम भने शुन्यजस्तै छ । अर्थात ३ महिनादेखि गरिएको कामको प्रगति भएको देखिँदैन । कालीकोट र जुम्ला कार्यालयले ३ महिना अघि नै नेपालगंज क्षेत्रीय कार्यालयलाई यो समस्या बुझाईसकेका थिए । सोहीअनुसार केन्द्रीय कार्यालयले उपकरणहरु पठाएको तर, लकडाउनका कारण प्राविधिक भने पठाउन नसकिएको बताएको छ ।

नेटवर्क विस्तार गर्ने कार्य सुर्खेतको हर्रे र दैलेखको रानीभत्तामा जारी छ । हर्रेको टावरमा केही काम भएपनि दैलेखको रानीभत्तामा भने उपकरणहरु ल्याएर थन्क्याइएको छ, प्राविधिक आईसकेका छैनन् । यसरी काममा ढिलासुस्ती हुँदा उक्त क्षेत्रका सेवाग्राहीले अझै १ देखि २ महिना यस्तै अपुरो सेवा प्रयोग गर्नुपर्ने बाध्यता हुने जुम्ला कार्यालयका निमित्त कार्यालय प्रमुख महतारा बताउँछन् । कर्णालीका हुम्ला, मुगु र डोल्पामा पनि कालीकोट र जुम्लाको बाटो हुँदै नेटवर्क पुग्ने गर्दछ । यी जिल्लामा पनि दूरसंचार सेवाको हाल भने नाजुक नै छ ।

अप्टिकल लिंकमा पहल

कर्णालीका माथिल्लो भेगका जिल्लाहरुमा अझै नपुगेको अप्टिकल लिंकका लागि पहल भईरहेको छ । रेडियो लिंकले बेलाबेलामा दुख दिने भएकाले अप्टिकल लिंकका लागि पहल गरिएको नेपाल टेलिकम कालीकोट कार्यालयका प्रमुख विष्टले बिजखबरलाई जानकारी दिए । उनका अनुसार हाल दैलेखको दुल्लुसम्म अप्टिकल फाइबर पुगिसकेको भएपनि कालीकोटसम्म भने पुग्न बाँकी छ । यस्तै माथिल्लो भेगको अन्य जिल्लामा कालीकोटको बाटो हुँदै जाने भएकाले सबै जिल्लाहरुले यसको पहल गरिरहेको उनको भनाई छ ।

कर्णाली प्रदेशका माथिल्लो भेगका जिल्लामात्रै नभई नेपालभरका विभिन्न जिल्लाहरुमा हाल यस्तो समस्या देखिन्छ । पहिले अर्थात करिव १० १५ बर्षअघि निश्चित सेवाग्राहीका लागि जडान गरिएको रेडियो लिंकले हाल फोरजी सेवा संचालन गर्दा सेवाग्राहीले भ्वाइस सेवामै अवरोध सामना गर्नु परिररहेको छ । यसका लागि विभिन्न सेक्टरमा काम गर्दै समाधानको प्रयास गरिरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

सेवा विकेन्द्रकरणमा छैन जोड

औपचारिकता मात्रै पुरा गर्न सबै जिल्लाका सबै स्थानमा फोरजी सेवा पुर्याएको नेपाल टेलिकमले यसका वेफाइदाहरुको बारेमा नसोचेपछि यस्तो अवस्था सिर्जना भएको एक दूरसंचार विज्ञले जानकारी दिए । उनका अनुसार पछिल्लो समय फाईभजी परिक्षणको तयारी गरिरहेको नेपाल टेलिकमले कर्णालीलगायत अन्य स्थानमा भ्वाइस सेवासमेत भरपर्दो र सहजताका साथ उपलब्ध गराउन सकिरहेको छैन । जसको प्रमुख कारण नै सेवा केन्द्रीकरण हो । नियामकदेखि सेवाप्रदायकहरु काठमाडौं र ठुला शहरमा मात्रै केन्द्रित हुँदा दूरदराजको ग्रामीण भेगका स्थानीयहरु मर्कामा पर्ने गरेका छन् ।

नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले पनि भ्वाइसदेखि डाटा सेवामा विभिन्न समयमा स्थानअनुसार ड्राईभ टेष्टको नाममा परीक्षण गर्दै आइरहेको छ । यस्तो परीक्षण पनि काठमाडौं र यसकै वरिपरि मात्रै हुने गरेको छ । तर, वास्तविक समस्या रहेका ग्रामीण भेगमा परीक्षणमात्रै नभई अनुगमनसमेत हुने गरेको छैन् । जसका कारण ग्रामीण भेगका दूरसंचार सेवाग्राहीहरु सेवा आएको बेला उपयोग गर्छन नआए चुपचाप बस्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL