Logo

मेलम्ची आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न छिटै पूरा हुने, ‘हेडवर्क’ मा गेट राख्ने काम सकियो फ्रेम राख्न बाँकी

मेलम्ची आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न छिटै पूरा हुने, ‘हेडवर्क’ मा गेट राख्ने काम सकियो फ्रेम राख्न बाँकी



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ ।

‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ । जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उनले बताए । उनले भने, “भन्सारमा आइसकेको छ त्यो आएर जडान भएपछि सकिनेछ ।”

‘हेडवर्क’ निर्माणको अवधि केही समय पहिले नै सकिएको थियो । कोभिडका कारण गत आवमा निर्माणमा अवरोध पुगेकाले अवधि थपिएको प्रवक्ता पन्तले बताए । थप भएको अवधि आगामी साउनमा नै सकिँदैछ । त्यतिबेलासम्ममा निर्माण सकिने उनको भनाइ छ । उनले भने, “हेडवर्क सकिएप्छि पहिलो चरणको पूरै सम्पन्न हुनेछ ।”

राष्ट्रिय गौरवको सो आयोजना निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाले तीन महिना पहिलेदेखि नै सुरुङको परीक्षण गरेर उपत्यकामा पानी झारेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको छ ।

सुरुङको निर्माण गत आवमा नै सम्पन्न भएको थियो । गत वर्ष असारमा सुरुङ परीक्षणका क्रममा दुर्घटना भएकाले सुरुङमा आवश्यक त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । दुई वर्ष पहिले नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको थियो । 

सुरुङ परीक्षणकै लागि पानी वितरण केही समय स्थगित गरिने आयोजनाले जनाएको छ । निर्माण कम्पनीसँग ठेक्का सम्पन्न गर्नका लागि एक पटक सुरुङ पूरै खाली गराएर परीक्षण गर्न लागिएको हो । सुरुङमा कुनै समस्या पाइएमा तुरुन्त सच्याएर पानी पुनः वितरण शुरु गरिनेछ । आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न हुन लाग्दा सरकारले आगामी आवमा दोस्रो चरणको समेत निर्माण अघि बढाउने गरी रकम विनियोजन गरेको छ । आयोजनाले दोस्रो चरणको निर्माणका लागि अहिले पहुँच सडकको निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL