Logo

लकडाउनमा काठमाडौं महानगरको रिलिफ, महानगरका पसल बिहान १० बजेसम्म खुल्ने

लकडाउनमा काठमाडौं महानगरको रिलिफ, महानगरका पसल बिहान १० बजेसम्म खुल्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।

laxmi

रकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५ औं कार्यपालिका बैठकमा सहभागी सबै वडाध्यक्षहरु यसमा सकारात्मक बनेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव पनि वडाध्यक्षहरुले दिएका थिए । शाक्यले पनि वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए । खान छैन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको समेत उनले बताए । ‘कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौं महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा २ सय २१ लाई सेवा दिएको छ,’ उनले भने, ‘१०२ नं. मा सम्पर्क गरेर सेवा लिन सकिने सो एम्बुलेन्सले १ सय ७६ जनालाई निशुल्क सेवा दिएको छ । त्यसैगरी यो अवधिमा दिउँसो १५ सय ३३ र रात्रीमा ८ सय ४५ जनालाई सेवा दिएको छ भने ५ जना प्रसुतीका विरामीलाई सेवा दिएको छ ।’

त्यसैगरी प्रमुख शाक्यले राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले बिकृतिमा न्युनीकरण भएको भन्दै कोरोना बिरुद्धको लडाइँमा आवश्यक पर्ने सामान प्राप्त गर्न महानगरको बाटो हेर्नु नपर्ने प्रष्ट पारे । ‘कोषबाट पठाइएको रकमबाट आफैं खरिद गर्न सक्नुहुन्छ, मेयर शाक्यले वडाध्यक्षहरुलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला ।’

बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ । त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लैजानु पर्ने बताईन ।

बैठकमा वडाध्यक्षहरुले वडामा समन्वय नगरी राहत लिएर आउनेहरुलाई निरुत्साहित गर्नुपर्ने, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL