काठमाडौं । स्टक ब्रोकर एशोसिएशनमा सागर ढकाल सर्वसम्मतिमा अध्यक्ष बन्ने निश्चित जस्तै भएको छ । लामो समयपछिको छलफलपश्चात उनले पुराना ब्रोकरहरुलाई समेट्दै उपाध्यक्ष र महासचिवको टुङ्गो लगाएसँगै ढकाल सर्वसम्मतिमा अध्यक्ष बन्ने निश्चित जस्तै भएको हो ।
ढकालले आफ्नो समुहबाट शुरुमा ब्रोकर लाईसेन्स पाएको २३ वटा मध्येबाट १७ नम्बर ब्रोकरका नितिश कुमार अग्रवालाई उपाध्यक्ष बनाएका हुन् । उनी पुराना ब्रोकरका साथै यसअघि संस्थाको महासचिव भइसकेका र सेयर बजार सम्बन्धी राम्रो ज्ञान भएका व्यक्ति हुन् । यसैगरी उनले महासचिवमा दोस्रो चरणमा लाईसेन्स पाएका २७ वटा ब्रोकरमध्येबाट भक्तिराम घिमिरेलाई अघि सारेका छन् । ब्रोकर नम्बर ४५ का संचालक रहेका घिमिरे पनि संस्थाका पूर्व कोषाध्यक्षका साथै पुँजी बजार सम्बन्धी राम्रो भएका र सबैलाई समेटेर संस्था चलाउने क्षमता भएका व्यक्ति हुन् ।
सरकारले तीन चरणमा गरेर ब्रोकर लाईसेन्स वितरण गरेको थियो । जसमध्ये पछिल्लो पटक ४३ वटाको लाईसेन्स दिएको थियो । सरकारले नयाँ लाईसेन्स दिएसँगै नयाँ र पुराना गरी ब्रोकरहरु दुई कित्तामा विभाजन भएका थिए । तर व्यवसायीक हकहितका लागि सरकारसँग एक भएर लविङ गर्नका लागि भन्दै दुई संस्था एकआपसमा मर्ज भएका थिए । उक्त संस्था मर्ज भएसँगै नयाँ र पुराना ब्रोकरले संयुक्त रुपमा सागर ढकाललाई अध्यक्षमा अघि बढाएका हुन् ।
हाल उपाध्यक्ष र महासचिवको उम्मेदवारको टुङ्गो लागेको र केही दिनभित्रै ९ जना कार्यसमितिको टुङ्गो लाग्ने ढकाल सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘हामी अहिले पनि छलफलमा छौं,’ ढकाल सम्बद्ध स्रोतले भन्यो, ‘हालसम्म अध्यक्ष, उपाध्यक्ष र महासचिवको उम्मेदवारको टुङ्गो लागेको छ । अब साथीहरुसँग छलफल गरेर सचिव, कोषाध्यक्ष र ४ जना सदस्यहरुको टुङ्गो लगाईने छ ।’
ढकालले सर्वसम्मतिमै सबै कार्यसमित चयन गर्नेगरी यहिँ मंसिर १९ गते टीम घोषणा गर्दैछन् । मंसिर २० र २१ गते हुने एशोसिएशनको साधारणसभाबाट उक्त टीम नै सर्वसम्मतिमा चयन हुने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।