Logo

कोरोना कहर : विश्वभर कोरोना जित्नेको संख्या तीन करोड नाघ्‍यो, ११ लाख २३ हजारले ज्यान गुमाए (अपडेट)

कोरोना कहर : विश्वभर कोरोना जित्नेको संख्या तीन करोड नाघ्‍यो, ११ लाख २३ हजारले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३ लाख ४७ हजार ४०१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख २२ हजार ७५८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ करोड ६ लाख ३४ हजार ८१६ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २५ हजार २२२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ८४ लाख ५६ हजार १६९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५६ हजार ८४२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४४२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५९४ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ४९८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५२ लाख ५१ हजार १२७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३२१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २२६ पुुगेको छ ।

नेपालमा सोमबारमात्रै ३,७९० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९४,५०१ सङ्क्रमित निको भइसकेका छन् । यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.५ प्रतिशत हो । अहिले देशभरि ४०,७७८ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये २६,९२७ जना घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन् । नेपालमा ७५७ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL