Logo

सम्झौता गरेको १० बर्षपछि चिनी उद्योगबाट बिजुली उत्पादन सुरु हुँदै, यसपटकको क्रसिङमा ८ मेगावाट विद्युत ग्रीडमा जोडिने

सम्झौता गरेको १० बर्षपछि चिनी उद्योगबाट बिजुली उत्पादन सुरु हुँदै, यसपटकको क्रसिङमा ८ मेगावाट विद्युत ग्रीडमा जोडिने



काठमाडौं । यस पटकको ऊखु क्रसिङको समयमा चिनी उद्योगबाट बिजुली उत्पादन गरिने भएको छ । हाल ३ ओटा चिनी उद्योगले बिजुली उत्पादनका लागि सम्पूर्ण तयारी गरिसकेको र ऊखु क्रसिङ सुरु भएसँगै राष्ट्रिय प्रसारण लाईनमा बिजुली पठाईने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए ।

laxmi

‘चिनी उद्योगबाट बिजुली उत्पादन गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको १० बर्षपछि यो सिजनबाट विद्युत उत्पादन सुरु गर्न लागेका छौं,’ उनले भने, ‘सम्भवत अबको १÷२ हप्तामा ऊखु क्रसिङ सुरु हन्छ त्यससँगै चिनी उद्योगबाट उत्पादन भएको विजुली राष्ट्रिय प्रशारणलाईनमा पठाउने छौं ।’

चिनी उद्योगबाट उत्पादित बिजुली ग्रीडसम्म लैजान समस्या भएका कारण लामो समयसम्म बिद्युत उत्पादन हुन सकेको थिएन । तर, अहिले चिनी उद्योगबाट मुख्य ग्रीडसम्म पुर्याउन प्रशारणलाईन जोडिसकेकाले यस पटकको सिजनबाटै विद्युत उत्पादन सुरु गर्ने समेत उनले जानकारी दिए ।
अहिलेको ऊखु क्रसिङ सिजनबाट एभेरेष्ट सुगर मिल, इन्दुशंकर सुगर मिल र रिलायन्स सुगर मिलले बिद्युत उत्पादन गर्ने भएका छन् ।

जसमा एभरेष्टले ३ मेगावाट, इन्दुशंकरले ३ मेगावाट र रिलायन्सले २ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ । ३ ओटा चिनी उद्योगमध्ये एभेष्ट र इन्दुशंकरले ऊखु क्रसिङसँगै उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोडिने र रिलायन्सले पनि केही समयभित्रै विद्युत उत्पाद सुरु गर्ने समेत अग्रवालले जानकारी दिए ।

यस अघि ६ ओटा ऊखु उद्योगले विद्युत उत्पादन गर्नका लागि आवेदन दिएको थियो । तर सो मध्ये अहिलेलाई ३ ओटाले मात्रै उत्पादन सुरु गर्न लागेको र त्यसपश्चात अन्य उद्योगले पनि उत्पादन सुरु गर्ने समेत उनले जानकारी दिए । ‘नेपाली ऊखु उद्योगबाट क्रसिङको समयमा ४० मेगावाट विद्युत उत्पादन हुनेछ,’ उनले भने, ‘नेपालमा विद्युत कम उत्पादन हुने ड्राई सिजनमा ऊखु उद्योगबाट विद्युत उत्पादन हुने भएकाले सहज रुपमा विद्युत आपूर्ति गर्नमा समेत सहज हुने भएको छ ।’ सम्झौता अनुसार ऊखु उद्योगबाट उत्पादित विद्युत प्राधिकरणले प्रति मेगावाट ८ रुपैयाँ ४० पैसामा खरिद गर्ने छ ।

उखु उद्योगबाट विद्युत उत्पादन भने वाष्पीकरण विधिबाट हुने गरेको छ । चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ । उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ। उक्त वाष्पीकरणबाट विद्युत उत्पादन गरिँदै आएको छ । यसअघि पनि चिनी उद्योगीहरुले चिनी उद्योगमा उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्नलाई प्रयास गरिरहेका थिए । तर प्रशारण लाईनकै कमिका कारण यो कार्य हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL