Logo

पेट्रोलमा कालोबजारी, प्रतिलिटर ५ सयसम्ममा किनवेच

पेट्रोलमा कालोबजारी, प्रतिलिटर ५ सयसम्ममा किनवेच


बिजखबर संवाददाता
0
Shares

भारतीय नाकाबन्दीले बजारमा पेट्रोलियम पदार्थ अभाव हुँदा कालाबजारी बढेको छ । सरकारले सार्वजनिक सवारीलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रलाई तेल वितरणमा नियन्त्रण गरेपछि कालाबजारी बढेको हो ।

नेपाल आयाल निगमले पेट्रोलियम वितरणलाई पारदर्शी बनाउन सरकारी पम्पलाई प्राथमिकता दिँदै तेल वितरण गरेको थियो । तर, त्यसरी तेल वितरण गर्दा झन समस्या उत्पन्न भएको सरोकारवालाहरु बताउँछन् । विशेषगरी नेपाल आर्मी तथा नेपाल प्रहरीका पेट्रोल पम्पमा तेल वितरण गर्दा अनियमितता भएको हो ।

नेपाल आर्मीले आफ्ना नजिकका व्यक्तिलाई मात्र तेल वितरण गर्न थालेपछि बजारमा कालोबजारी बढेको सम्बद्ध सरोकारवाला बताउँछन् । आर्मीको पम्पबाट आफ्ना नजिकका व्यक्तिलाई तेल दिने र सोही तेललाई बाहिर बजारमा मोलबढावढमा बेच्ने काम भइरहेको छ । ‘२ दिनदेखि लाइनमा बस्दा आर्मीको भद्रकाली स्थित रिपुमर्दिनी पम्पबाट तेल छैन भन्दै फर्काइयो,’ पेट्रोल लिनका लागि लाइनमा वसेका शिव अधिकारीले भने, ‘तर, आर्मीले आफ्ना नजिकका व्यक्ति र आफ्ना कर्मचारीलाई ग्यालिङमा भरेर बाड्यो ।’

petrol_line

अन्य व्यक्तिलाई पेट्रोल लिनका लागि जर्नेलको तोक लगाउनु पर्ने भन्दै रोक्ने गरेको र वाहिर बढी मुल्यमा बेच्नका लागि आफु नजिकका व्यक्तिलाई ग्यालिङ्मा भर्ने गरेको सम्बद्ध सेवाग्राहीको गुनासो छ । त्यसरी भरिएका पेट्रोल बाहिर अन्य व्यक्तिलाई प्रतिलिटर ५ सय रुपैयाँसम्म लिएर बेच्ने गरेका छन् । ‘मोटरसाइकल नै नचल्ने भएपछि ग्यालिङ्मा पेट्रोल भर्ने आर्मीसँग किन्न गएको प्रतिलिटर ५ सय रुपैयाँ दिए मात्र बेच्ने बताए,’ लाइनमा वसेका एक व्यक्तिले नाम नबताउने सर्तमा भने ।

सरकारी स्तरका अन्य पेट्रोल पम्पले पनि आफ्ना नजिकका व्यक्तिलाई मात्र बाड्ने गरेको गुनासो बढेको छ । त्यसैगरी नक्साल स्थित नेपाल प्रहरीको पेट्रोल पम्पले पनि आफु नजिकका व्यक्ति र प्रहरीका उच्च पदस्थलाई लाइन नै नवसी ग्यालिङ्मा माग गरे अनुसार वितरण गर्दैै आएको छ । तर, पेट्रोल लिनका लागि लाइनमा वसेका अन्यलाई भने पेट्रोल नभएको भन्दै फर्काएका छन् । हाल आर्मी तथा पुलिसका पम्मबाट ग्यालिङ्मा भरिएका पेट्रोल बजारमा प्रतिलिटर ३ सय रुपैयाँभन्दा बढी मुल्यमा किनवेच भइरहेको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पनि आर्मीले १५/२० घण्टासम्म गाडी लाइनमा राख्न लगाएर अन्तमा पेट्रोल नदिइ फर्काएको भन्दै ट्वीटर मार्फत गुनासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL