Logo

नागरिक लगानी कोषले १० अर्वको पुँजीमा ‘मार्केट मेकर’ कम्पनी खोल्दै

नागरिक लगानी कोषले १० अर्वको पुँजीमा ‘मार्केट मेकर’ कम्पनी खोल्दै


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१३ सानउ, काठमाडौं । नागरिक लगानीकोषले सेयर बजारमा ‘मार्केट मेकर’को रुपमा काम गर्न छुट्टै कम्पनी खोल्ने भएको छ । हाल १० अर्व रुपैयाँसम्मको चुक्ता पुँजी रहनेगरी ‘मार्केट मेकर’ कम्पनी स्थापना गर्न लागिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । ‘कोषले ‘मार्केट मेकर’ कम्पनी स्थापना गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जसँग अनुमति लिनका लागि आवेदन दिएको छ,’ उनले भने, ‘सहमति आएसँगै कम्पनीेले मार्केट मेकर र स्टक डिलरको काम शुरु गर्ने छ ।’

पोखरेलका अनुसार नेपालमा हालसम्म मार्केट मेकर कम्पनी नभएकाले पुँजी बजारमा स्थिरता ल्याउनका लागि पनि सहायक कम्पनी खोल्न लागिएको हो । हाल कोषले प्राथमिक बजारमा मात्र लगानी गर्दै आएकोमा कम्पनी स्थापनासँगै दोस्रो बजारमा पनि ठूलो मात्रामा लगानी गर्ने भएको छ । ‘मार्केट मेकर कम्पनी नहुँदा बजारमा सेयरको भाउमा उथलपुथल भइरहेको छ,’ उनले भने, ‘कम्पनी स्थापना भएसँगै त्यसलाई स्थिरता दिनेछ ।’ साथै, बजारमा कतिपय कम्पनीलाई अप्ठ्यारो परेको अवस्थामा सुरक्षित गर्ने काम समेत गरिने उनले जानकारी दिए ।

मार्केट मेकर कम्पनी स्थापनाका लागि हाल पूर्वाधार निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै कम्पनीले काम शुरु गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । केही समय अघि कोष सञ्चालक समितिको वैठकले पनि सहायक कम्पनी स्थापना गरी सेयर बजारमा लगानी गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी, चालू आवको बजेट वक्तव्यमा पनि नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा काम गर्न क्रियाशिल बनाइने उल्लेख गरिएको छ ।

कोषका अनुसार मार्केट मेकरको रुपमा सहायक कम्पनी स्थापनाका लागि प्रवन्धपत्र र नियमावली तयार गर्ने काम केही समयअघि देखि नै भैरहेको थियो । कोषले बजारमा आफ्नो दरिलो उपस्थिति देखाउने र विशिष्टकृत सेवा दिने उद्देश्य अनुरुप सहायक कम्पनी स्थापना गर्न लागेको हो । हाल कोषसँग प्रशस्त तरलता भएको र आफ्नो उद्देश्यमध्येमा पुँजी बजार पर्ने भएकाले लगानीको लागि तयारी गरिरहेको पोखरेल बताउँछन् ।

कोषसँग अहिले झण्डै ६० अर्ब रुपैयाँ जत्ति रकम जम्मा रहेको छ । त्यसमध्ये ३० प्रतिशत लगानी गर्न सकिने सीमा रहेको छ । सो रकम तरलताको समुचित व्यवस्थापन हुनसक्ने गरी पुँजी बजारमा लगानी गर्न सकिनेछ ।

संस्थागत लगानीकर्ताहरु बजारमा छिरेपछि कुनैपनि कम्पनीको सेयर अनावश्यकरुपमा बढेमा आफूसँग भएको सेयर बिक्री गरिदिने र बजारमूल्य घटेमा बजारबाट सेयर खरिद गर्ने काम मार्केट मेकर कम्पनीले गर्नेछ । जसले गर्दा पनि सेयरको मूल्यमा स्थिरता आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL