Logo

दाङमा मात्रै विद्युतको बक्यौता ९ करोड, सरकारी कार्यालयले नै तिर्दैनन बक्यौता

दाङमा मात्रै विद्युतको बक्यौता ९ करोड, सरकारी कार्यालयले नै तिर्दैनन बक्यौता



काठमाडौं । दाङमा विद्युत्को करीब ९ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको ८ करोड ८१ लाख ६९ हजार ८ सय ७२ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको ४ करोड ४५ लाख ३४ हजार ४ सय ४ रुपैयाँ बक्यौता उठ्न बाँकी छ, भने घोराहीबाट ४ करोड ३६ लाख ३५ हजार ४ सय ७२ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ ।

laxmi

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख दीपक चौधरीका अनुसार सरकारी कार्यालयले समेत विद्युत्को बक्यौता बुझाएका छैनन् । गएको वर्ष विद्युत्को महशुल नबुझाउनेमध्ये तुलसीपुरमा ५९ वटाको लाइन काटिएको प्रमुख चौधरीको भनाइ छ । लाइन काटिएपछि जरिवाना तिरेर पुनः विद्युत् जडान गर्न सकिने उनको भनाई छ ।

ग्राहकको काटिएको लाइन जडान गरेबापत २५ लाख ६४ हजार ३ सय ८३ रुपैयाँ राजश्व सङ्कलन भएको छ । लाइन काटिएर बाँकी बक्यौता नतिर्ने ग्राहकमध्ये अघिल्लो आवसम्ममा ४८ जनालाई कालोसूचीमा राखिएको छ । साथै चालू आव २०७६/०७७ मा तीन जना ग्राहकबाट १ लाख ७८ हजार ३० असुल गरिएको उनले जानकारी दिए ।

बक्यौता उठाउनका लागि पटक–पटक पत्र पठाउनुका साथै पत्रचार गर्ने गरेको प्रमुख चौधरीको भनाइ छ । महशुल नबुझाएको दुई महीनापछि लाइन काटिने गर्छ । तुलसीपुरमा ३८ हजार ९ सय ९१ ग्राहक रहेका छन् । घोराहीमा करीब ३५ हजार ग्राहक छन् । लमही नगरपालिका क्षेत्रमा २५ हजार रहेका छन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । पछिल्लो समय विद्युत् चुहावट अत्यधिक हुने गरेको भन्दै त्यसको निगरानीलाई कडाइ गरेको प्रमुख चौधरीले बताए । चुहावट रोक्न टोली परिचालन गरिएको छ । गएको आवमा ४७ वटा चुहावट कारवाही गरिएकोमा त्यसबाट ४ लाख ९२ हजार ४ सय १२ रुपैयाँ असुल गरिएको थियो ।

अघिल्लो आव २०७४/०७५ मा ३० दशमलव ८६ प्रतिशत चुहावट रहेको थियो भने गत आव २०७५/०७६ मा त्यसलाई २१ दशमलव ६८ प्रतिशतमा ल्याउने लक्ष्य राखिएकोमा १९ दशमलव ३० प्रतिशत कायम भएको थियो । बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गएको वर्ष सबैभन्दा बढी गोलटाकुरीमा चुहावट भएको थियो । त्यसैगरी फूलबारी र कचिलामा भएको थियो । बजार क्षेत्रमा भने फाटफुट मात्रामा चुहावट हुने गरेको छ ।

विद्युत्को पोलबाटै हुकिङ गरी लैजाने गरेको छ । घरमा मिटर नै जडान नगर्ने तर विद्युत चोरी गरी चलाउने गरेको भन्दै यस्तालाई कारवाही गर्न थालिएको बताइएको छ । कारवाही गरिएकाबाट प्रयोग गरेको परिमाणको आधारमा जरिवाना गर्ने गरिएको छ । प्रायः गर्मी समयमा बढी चुहावट हुने र पानी तान्ने मोटरलगायत अन्य इलेक्टोनिक्स सामग्री बढी प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई कम्तीमा रु दुई हजारदेखि बढी जरिवाना हुने गरेको छ । त्यसरी प्रयोग गर्दा मिटरमा युनिट नदेखिने हुनाले विद्युत्लाई राजश्वमा घाटा लाग्ने गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
MBL