Logo

१३ दिनपछि खुल्यो माथिल्लो तामाकोशी, विवाद समाधानाका लागि कार्यदल बनाइने

१३ दिनपछि खुल्यो माथिल्लो तामाकोशी, विवाद समाधानाका लागि कार्यदल बनाइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

११ चैत, काठमाडौं । मजदूर आन्दोलनमा कारण विगत १३ दिनदेखि बन्द रहेको निर्मार्णाधिन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आजदेखि खुलेको छ । मजदूरका माग सम्बोधन गर्न छुट्टै कार्यदल बनाउने सहमति भएपछि आन्दोलन स्थगित गरी मजदूरहरु काममा फर्केका हुन् ।

आज आयोजनाको व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरहरुको संस्था क्यूपेक नेपालले एक सहमति गरी ७ दिनभित्र विज्ञ सहितको कार्यदल बनाउने निर्णय गरेको छ । सो कार्यदलले ३० दिनभित्र प्रतिवेदन पेश गर्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

उक्त प्रतिवेदनले मजदूरको मागलाई सम्बोधन गर्नुपर्ने उक्त सम्झौतामा उल्लेख गरिएको छ । आयोजनामा भइरहेको बन्द हड्ताल खुलाउनका लागि जिल्ला प्रशासन र मजदूरबीच पटक–पटक वार्ता भएको थियो । उक्त वार्ताबाट पनि निकास ननिक्लिएपछि छुट्टै कार्यदल नै बनाउनु परेको हो । बन्द हड्तालले गर्दा दोलखावासीका लागि जारी गर्न लागिएको १० प्रतिशत सेयर समेत स्थगित भएको छ ।

मजदूरले आफुहरुले पनि प्रतिव्यक्ति ५ सय कित्ता सेयर पाउनुपर्ने माग राखी आन्दालनमा उत्रिएका थिए । आगामी दिनमा मजदूरलाई केकति सेयर दिने भन्ने विषयमा उक्त कार्यदलले नै टुङ्गो लगाउने छ । आयोजनामा नेपाली, भारतीय र चिनियाँ नागरिक गरी झण्डै १ हजार ५ सय मजदूर कार्यरत छन् । सोमध्ये सिनो हाइड्रोमा कार्यरत ८ सय ५० जना मजदूर भने सेयर माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्रवक्ता न्यौपानेका अनुसार निर्माणधिन सो आयोजनाको ७३ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । कुल ३५ अर्व २९ करोड रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाबाट ४ सय ५० मेगावाट विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL