Logo

कुल बीमा पोलीसीमा वैदेशिक रोजगारीको हिस्सा ६५ प्रतिशत

कुल बीमा पोलीसीमा वैदेशिक रोजगारीको हिस्सा ६५ प्रतिशत


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

laxmi

२८ पुस, काठमाडौं । नेपालको जीवन बीमा पोलीसीमा वैदेशिक रोजगार म्यादी बीमाको बर्चश्व बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो ३ नेपालका बीमा कम्पनीवाट जारी भएका कुल बीमा पोलीसीको ६५ प्रतिशत हिस्सा वैदेशिक रोजगारीले ओगटेको छ ।

चालू आवको ३ महिनामा कुल २ लाख ८३ हजार ६ सय बीमा पोलीसीजारी भएको छ । सोमध्ये १ लाख ९८ हजार ३ सय बीमा पोलीसी वैदेशिक रोजगारीमा जाने कामदारहरुको रहेकोे बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । समितिका अनुसार सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्यरुपमा बीमा गर्नु पर्ने व्यवस्था लागू गरेपछि वैदेशिक रोजगारी सम्बन्धी बीमा ह्वात्तै बढेको हो ।

चालू आवको पहिलो ३ महिनामा सवैभन्दा अमेरिकन लाइफ इन्स्योरेन्सले म्यादी बीमा गराएको छ । सो अवधिमा उसले ६४ हजारभन्दा बढी बीमा पोलिसी जारी गरको छ । त्यसैगरी, दोस्रो बढी बीमा गराउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४० हजार ९ सयले बीमा गराएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ३० हजारभन्दा बढीको त्यस्ता बीमा गराएको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो ५ महिनामा कुल २ लाख २५ हजार ९ सय कामदार वैदेशिक रोजगारीमा गएका छन् । विषेशगरी वैदेशिक रोजगारीमा जाने कामदारले २ वर्षका लागि बीमा गरेर जाने गरेका छन् । तर, मलेशियाको रोजगारीमा जाने कामदारले भने ३ वर्षे बीमा गराउने गरेका छन् । कामदारले २ वर्षे बीमावापत ३५ वर्ष भन्दा कम उमेर समुहकाले रु. १ हजार ८ सय २५ प्रिमियम तिर्नु पर्छ । त्यस्तै ३ वर्षे बीमा वापत २ हजार ४ सय ३० रुपैयाँ प्रिमियम लिने गरिएको समितिले बताएको छ ।

नेपालका बीमा कम्पनीले सो अवधिमा वैदेशिक रोजगारी बीमाको प्रिमियम वापत ३५ करोड ४७ लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गरेका छन् ।

गत आवमा पनि नेपालका जीवन बीमा कम्पनीले कुल १२ लाख २८ हजार ९ सय पोलीसी जारी गरेका थिए । त्यस मध्येमा ९ लाख ३३ हजार ८ सय बीमा पोलीसी वैदेशिक रोजगारीको थियो । वैदेशिक रोजगारीले नेपालको बीमा व्यवसायमा ठूलो हिस्सा ओगटेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘कतिपय बीमा कम्पनीको कारोवार नै वैदेशिक रोजगार बीमा वाट चलेको छ,’ समितिका एक अधिकारीले भने, ‘यदि वैदेशिक रोजगारी सम्बन्धी बीमा नहुने हो भने बीमा कम्पनीको कारोवारमा ठूलो धक्का लाग्ने छ ।’

नेपालको बीमा क्षेत्रलाई अघि बढाउन वैदेशिक रोजगार बीमाको ठूलो भुमिका  रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक विवेक झाले बताए । ‘पछिल्लो समय विश्वव्यापी रुपमा वैदेशिक रोजगार तथा म्यादी जीवन बीमा गराउने चलन बढेको छ,’ उनले भने, ‘नेपालको बीमा व्यवसायमा पनि यसले ठूलो भुमिका खेलेको छ ।’

यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई पनि नेपालको बीमा व्यवसायमा वैदेशिक रोजगार बीमाको हिस्सा उल्लेख्य रहेको बताउँछन् । ‘आव २०६८/६९ सम्म देशको कुल ग्राह्स्थ्य उत्पादनमा बीमाको योगदान जिरो दशमलव ८ प्रतिशत रहेकोमा आव २०७१/७१ मा त्यसको हिस्सा बढेर १ दशमलव ४६ प्रतिशत पुगेको छ,’ उनले भने, ‘जीडीपीमा योगदान बढ्नुमा वैदेशिक रोजगार बीमाको भुमिका रहेको छ ।’ आगामी दिनमा आफ्नो इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमालाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ थियो ।

बीमा समितिले वैदेशिक रोजगारीमा गएका कामदार कामगर्न नसक्ने गरी अशक्त भएमा, मृतक कामदारको शव घरसम्म पु¥याउन, किरियाखर्च उपलब्ध गराउने लगायत विभिन्न ६ ओटा दिँदै आएको छ । बीमा गराएका कामदरको मृत्यु भएमा उनीहरुका परिवारले विभिन्न शिर्षकमा गरी ७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL