Logo

कर्णालीको बजेट अधिवेशन आजदेखि, दायरा बढाउने तयार

कर्णालीको बजेट अधिवेशन आजदेखि, दायरा बढाउने तयार



काठमाडौं । कर्णाली प्रदेशको बजेट अधिवेशन आइतबार (आज) बाट सुरु हुने भएको छ । २१ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीलाई सिफारिस गरेको थियो ।

प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । यो अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । १ असारमा प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको तयारी गरिरहेको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोडबराबरको बजेट ल्याएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले विगतको तुलनामा यस वर्षको बजेट परिमार्जन भएर आउने बताए । चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशत कार्यान्वयन हुने भन्दै उनले आगामी वर्षको बजेटको अंक बढेर आउने बताए । सोहीबमोजिम सबै मन्त्रालयहरूलाई बजेट सिलिङ बढाएर पठाइएको उनको भनाइ छ ।

आगामी बजेटमा पूर्वाधारसँगै रोजगारी र कृषिलाई प्राथमिकतामा राखिने मन्त्री शाहको भनाइ छ । विगतमा योजनामाथि योजना थपिने तर बजेट कार्यान्वयन नहुने परिपाटीको अन्त्य गर्नतर्फ प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ ।

विगतका योजना छनोटदेखि बजेट निर्माण र कार्यान्वयनबाट पाठ सिक्दै तथ्यमा आधारित रहेर मात्रै आगामी बजेट आउने मन्त्री शाहले बताए । चालु आर्थिक वर्षमा योजना छनोट तथा बजेटमा निर्माणमा नीतिगत थिति बसाल्ने प्रयास भएको उल्लेख गर्दै मन्त्री शाहले आगामी बजेट कार्यान्वयनमुखी हुने दाबी गर्दै आएका छन् ।

आयोजना छनोट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई प्राथमिकतामा राखिने मुख्यमन्त्री यामलाल कँडेलले बताउँदै आएका छन् । आगामी आर्थिक वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादनमा आधारित आयोजनाका रूपमा विशिष्टीकृत गरिने उनको दाबी छ ।

उनले कर्णालीमा योजना छनौटमा थिति बसालेको दावीसमेत गर्दै आएका छन् । आगामी वर्ष २०८२÷८३ को बजेट नीति, कार्यक्रम तथा बजेट निर्माणको पूर्व सन्ध्यामा मख्यमन्त्री कँडेललाई कर्णाली समृद्धिको खाका कोर्ने अवसर आएको छ ।

प्रतिक्रिया दिनुहोस्