Logo

सामसुङले नेपालमा खोल्यो टेलिभिजन कारखाना, गोल्छा समूहअन्तर्गतको हिम इलेक्ट्रोनिक्ससँग सहकार्य

सामसुङले नेपालमा खोल्यो टेलिभिजन कारखाना, गोल्छा समूहअन्तर्गतको हिम इलेक्ट्रोनिक्ससँग सहकार्य



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले सामसुङको टेलिभिजन कारखानाको उद्घाटन गरेका छन् । दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय उपकरण उत्पादन कम्पनी सामसुङको टेलिभिजन कारखाना नवलपरासीमा उद्घाटन गरिएको हो ।

laxmi

हाल विद्युतीय बजारमा लोकप्रिय रहेको यो कम्पनीले गोल्छा समूहअन्तर्गतको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमा टेलिभिजनको कारखाना सञ्चालनमा ल्याएको जनाएको छ । उक्त कारखाना उद्घाटनको अवसरमा मन्त्री रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी बढाउन आग्रह गरे। नेपालको कानुनमा कुनै अडचन भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने उनको भनाइ छ ।

उक्त उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुखसुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै पार्कले नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए । उनले भने, ‘हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदछौँ ।’

समारोहलाई सम्बोधन गर्दै शेखर गोल्छाले सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्साउने बताए । ‘विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुचि देखाएको छ । जुन हाम्रो लागि महत्त्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवर्द्धन गर्ने उपयुक्त नीतिहरुसंगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं’, उनले भने । यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुँगा भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL