Logo

दैलेखमा चिनियाँले गरेको पेट्रोलियम अन्वेषणको नतिजा २ महिना भित्र आउने, पेट्रोलियम उत्खननको सम्भावना कति ?

दैलेखमा चिनियाँले गरेको पेट्रोलियम अन्वेषणको नतिजा २ महिना भित्र आउने, पेट्रोलियम उत्खननको सम्भावना कति ?



काठमाडौं । दैलेखको पादुका क्षेत्रमा चिनियाँ विशेषज्ञले सम्पन्न गरेको पेट्रोलियम खानी अन्वेषणको नतिजा २ महिना भित्र आउने भएको छ । सो नतिजापछि पेट्रोलियम पदार्थ के कति छ भन्ने पुष्टि हुने छ ।

चिनियाँ विशेषज्ञको टोलीले लकडाउनअगावै अन्वेषण सम्पन्न गरेको उक्त स्थानमा उत्खनन गर्नसक्ने सम्भावना छ कि छैन भन्ने लगायतको अहिले विश्लेषण भईरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चिनियाँ प्राविधिक टोलीले उक्त स्थानमा पेट्रोलियम पदार्थ रहेको नरहेकोबारे अबको एक २ महिनामै जवाफ दिनेछ ।

उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपनि कति रहेको छ र उत्खनन गर्दा फाईदा हुने नहुनेबारे यो अन्वेषणले स्पष्ट पार्ने बताइएको छ । सोही अनुसार विस २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन नेपालबीच उक्त क्षेत्रमा अन्वेषण गर्ने द्विपक्षीय सम्झौता भएको थियो । सम्झौतापछि चीनको नेशनल चाईना पेट्रोलियम कर्पाेरेशन (एनसीपीसी) का विज्ञहरुले गत बर्ष लगातार ४ महिना उक्त क्षेत्रमा अन्वेषण गरेका थिए ।

खानी तथा भुगर्भ विभागअन्तरगत पेट्रोलियम अन्वेषण तथा प्रर्वद्धन केन्द्रका प्रमुख सुधीर रजौरेका अनुसार ४ महिनासम्म चिनियाँ विज्ञहरुले विभिन्न किसिमका अन्वेषणमार्फत तथ्यांक संकलन गरेका थिए । ‘लगातार ४ महिनाको अध्ययनपश्चात चिनियाँ टोली दैलेखमा अन्वेषण गरेर लकडाउन अगावै फर्किसकेको छ,’ उनले भने, ‘अबको १–२ महिनामा उक्त अन्वेषणमा पाईएका तथ्यांकको निष्कर्ष आउनेछ ।’

चिनियाँ टोलीका विज्ञहरुले हाल उक्त क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ कति छ, उत्खनन गर्दा फाईदा–वेफाईदा के हुन्छ लगायतका निष्कर्ष निकाल्नेछ । उक्त क्षेत्रमा पेट्रोलियम छ भन्ने टुंगो लागेपनि चिनियाँ टोलीले विस्तृत अध्ययन गरेको हो ।

चिनियाँ टोलीले उक्त क्षेत्रमा पेट्रोलियम पदार्थको क्षेत्र र परिमाणबारे थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि ‘सेस्मिक सर्वे’ र ‘म्याग्नेटु टेलिक सर्वे’ गरेको थियो । पेट्रोलियम पदार्थको परिमाण र क्षेत्र (पेट्रोलियम रिजर्भ वायर) पत्ता लगाउनका लागि सो क्षेत्रमा साढे चार किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’ समेत गरिएको थियो । ‘सेस्मिक सर्वे’मा जमिनमा भूकम्पन्न उत्पन्न गरी कम्पन सेन्सर यन्त्रको रेकर्डमार्फत जमिनमुनिको बनावट थाहा पाइन्छ र ‘ड्रिलिङ’ गरिने उपयुक्त ठाउँको पत्ता लगाइन्छ ।

नेपालको चुरे पर्वतमाला क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको असाम र पाकिस्तानको पोतबार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने प्रबल सम्भावना रहेको विज्ञहरु बताउँदै आएका छन् ।

चुरे पर्वतमाला क्षेत्रका अतिरिक्त दैलेखको शिरस्थान र नाभीस्थानमा लामो समयदेखि ग्यास निस्केर ज्वाला बलिरहेको अवस्था छ भने पादुकास्थानमा कच्चा तेल निस्कनुलाई नेपालको भूगर्भमा पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास रहेको प्रमाणका रूपमा लिन सकिन्छ ।

खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ स्थानमा ग्यास चुहावट देखिएको छ । सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो ।

उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई दुई अर्ब रुपियाँ सहयोगको घोषणासमेत गरेको थियो । सोही घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो ।

तर, दैलेख क्षेत्रमा अन्वेषणको काम सकिएपनि अन्य केही स्थानमा भने अझै १–२ महिनाको काम बाँकी रहेको परियोजनाका प्रमुख रजौरेले जानकारी दिए । उनका अनुसार उक्त लाईनमा पर्ने अन्य स्थानमा पनि सोही अनुसारको अन्वेषण गर्न बाँकी छ । दैलेखबाहेक अन्य स्थानमा अन्वेषण गर्न चिनियाँ टोली पुनः आउने अवस्था रहेको उनले जानकारी दिए ।

२ जना विज्ञ नेपालमै
सोही सम्झौता अनुसार नेपालमा अन्वेषण लागि आएका विज्ञहरुमध्ये २ जना भने लकडाउनका कारण नेपालमै बसिरहेका छन् । चीन फर्किने तरखरमा रहेका विज्ञहरुमध्ये अन्य विज्ञ गएपनि २ जना विज्ञ भने नेपालमै रहेका परियोजनाका प्रमुख रजौरे बताउँछन् । लकडाउन भएपछि उनीहरु चीन फर्किन अप्ठ्यारो भएपछि नेपालमै बस्नुपरेका हो ।

प्रतिक्रिया दिनुहोस्
MBL