Logo

अर्बपति विनोद चौधरीले खोले मुख, भने-अहिलेको आवश्यकता पैसा होइन, स्वास्थ्य उपकरणको आपूर्ति हो

अर्बपति विनोद चौधरीले खोले मुख, भने-अहिलेको आवश्यकता पैसा होइन, स्वास्थ्य उपकरणको आपूर्ति हो



काठमाडौं । नेपालको प्रमुख व्यवसायिक घराना चौधरी ग्रुपले कोरोना भाइरस संक्रमितका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरण र किटस सहयोग गरेको छ ।

ग्रुप अन्तरगतको चौधरी फाउन्डेसनमार्फत सहयोग उपलब्ध गराइएको ग्रुपका अध्यक्ष बिनोद चौधरीले सामाजिक सञ्जालमा जानकारी गराएका हुन् ।


चौधरीले सामाजिक सञ्जालमा गरेको पोष्ट जस्ताका तस्तै  :

हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता भनेको विभिन्न अस्पताल र ठाउँ-ठाउँका क्वारेन्टाइन, आइसोलेसन सेन्टरहरूको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्रीले सुसज्जित गर्नु हो । सबैभन्दा पहिले उपचारमा क्रियाशील रहने स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गरी उनीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनु आवश्यक थियो । चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ ।

पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), Oxygen generating apparatus, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेका छौं ।

प्रदेश नम्बर १, ६ र ७ का प्रमुख स्वास्थ्य केन्द्रहरूमा भोलिसम्ममा आवश्यक सामग्री वितरण गरिनेछ ।

कोभिड-१९ संक्रमितको उपचारका लागि तयारी गरिरहेका सबै स्वास्थ्य संस्थाहरूमा यी सामग्री उपलब्ध गराउने हाम्रो प्रयास जारी छ ।

जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा PPE लगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर हामीले हेल्पलाइन शुरु गरेका छौं । त्यसका लागि 9851172398, 9801067443 र 9802020953 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो । केही बाहिरी मुलुकमा हामीले परीक्षण किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं । ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ । मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ ।

हामीले भोगिरहेको अर्को चुनौती Oxygen generating apparatus र भेन्टिलेटरको हो । मुलुकभर यी उपकरणको अभाव देखिएको छ । बाहिरबाट उपकरण आयात गर्नुको विकल्प हामीसँग छैन । सँगसँगै ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति अभाव पनि उत्तिकै छ । त्यसैले त्यस्ता जनशक्तिको अभिमुखीकरणका लागि हामी सम्बन्धित मन्त्रालय र निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं ।

आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो । संक्रमित बिरामी उपचारको ठूलो अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो । यसतर्फ चौधरी फाउन्डेसन अत्यन्तै सजग र संवेदनशील छ । त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL