Logo

नेपालको पहिलो मल उद्योगमा चमेराको बास, अरु पनि बन्द हुँदै

नेपालको पहिलो मल उद्योगमा चमेराको बास, अरु पनि बन्द हुँदै



काठमाडौं । झापामा रहेको देशकै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ ।

मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन भएको केही समयमै बन्द भएको सो उद्योग १७ वर्षदेखि बन्द छ । उद्योगको कार्यालय र भवनहरु जङ्गल र झाडीले छोपिएपछि सुनसान कारखाना भवन चमेराको बासस्थानमा परिणत भएको हो ।

उद्योगले नेपालमै पहिलोपटक युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गरेको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारहरुसँग मिलेर उद्योग सञ्चालन गरेका थिए । उद्योग सञ्चालनका लागि नेपाल सरकारको स्वामित्व रहेको कृषि विकास बैंकबाट सञ्चालकहरुले २५ करोड रुपैयाँ ऋण समेत लिएका थिए ।

चारआली–भद्रपुर सडकको छेउमा, गोरखकाली सिमेन्ट उद्योग र सेन्चुरी सिमेन्ट उद्योगकोबीचमा चार बिघा जमीनमा रहेको सो उद्योगमा ६ ओटा साना–ठूला भवन रहेका छन् । भवनभित्र रहेका जेनेरेटर र मेसिनका पार्टपुर्जालगायतका सबै सामान चोरी भइसकेको र खोक्रो भवन मात्र बाँकी रहेको उद्योगको जिम्मेवारी लिएका स्थानीयबासी गोपाल तिवारीले जानकारी दिएका छन ।

उद्योगको वरिपरि इँटाको पर्खालले घेरिए पनि कार्यालय परिसरभित्र वनमारा झार, तीते र विभिन्न जातजातिका वनस्पति उम्रिएर जङ्गलमा परिणत भएको छ । भवनका प्रायः कोठाहरुमा चमेराको बासस्थान रहेको चौकीदार दीपक राजवंशीले बताए । राजवंशीलाई एक वर्षअघिदेखि मासिक १० हजार रुपैयाँ तलब दिएर चौकीदारको जिम्मेवारी दिइएको छ । घरतिरबाट खेदाइएको हात्ती कहिलेकाहीँ रातभर त्यही उद्योगमा बस्ने गरेको राजवंशीले बताए । उनका अनुसार उद्योग क्षेत्र नै जङ्गलजस्तो भएकाले गाउँलेले लेखेटेका जङ्गली हात्ती पर्खाल भत्काएर पस्ने गरेका छन् ।

उद्योगले भारतबाट भित्र्याएको रासायनिक मललाई प्याकेजिङ मात्र गरेर नेपाली ब्राण्डमा बेच्न थालेपछि लुना मलको बजार छिट्टै खस्किएको थियो । मल अलोकप्रिय भएपछि उद्योग तत्कालै बन्द भएको स्थानीयहरु बताउँछन । कृषि विकास बैंकको ऋण तिरिदिएर काठमाडौं निवासी नीरकुमार श्रेष्ठले ७ करोडमा १४ महिनाअघि सो उद्योग आफ्नो नाममा बनाएका थिए । सो उद्योग श्रेष्ठले हाल इटहरीका एक व्यवसायीलाई छालाको ज्याकेट बनाउने उद्योगका लागि बिक्री गर्ने प्रक्रियामा रहेको बुझिएको छ ।

अर्को मल उद्योग पनि बन्द

झापाको भद्रपुर नगरपालिका–५ मा उद्योगी सुवोध कोठारी, दीपक पोखरेल, बुद्धि घिमिरे र ओम अग्रवालको संयुक्त लगानीमा खोलिएको एभरेष्ट केमिकल एण्ड फर्टिलाइजर इन्डस्ट्रिज प्रालि समेत बन्द भएको छ । ८ वर्षअघि ४ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सो उद्योग डेढ महिना सञ्चालन गरेर बन्द गरिएको थियो । उद्योगले मिश्रित दानादार धनवर्षा मल उत्पादन गर्दै आएको थियो ।

आवश्यक कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको सञ्चालक बुद्धि घिमिरेले बताए । एक बिघा १४ कठ्ठा जमीन खरीद गरेर सञ्चालनमा ल्याइएको सो उद्योगको मल बनाउने मेसिन काम नलाग्ने अवस्थामा पुगेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL