Logo

पहिलो पटक पूर्वाधार सम्मेलन हुँदै, विकासमा विदेशी लगानीको खोजि

पहिलो पटक पूर्वाधार सम्मेलन हुँदै, विकासमा विदेशी लगानीको खोजि


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता,  काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमै पहिलोपटक पूर्वाधार सम्मेलन गर्ने भएको छ । परिसंघले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा कात्तिक २५ र २६ गते काठमाडौंमा ‘पूर्वाधार सम्मेलन २०१४’ आयोजना गर्ने भएको हो । नेपालको पूर्वाधार विकासमा देखिएका समस्या उजागरण गरी त्यसको समाधान समेत खोज्ने हेतुले सम्मेलन आयोजना गरिने भएको परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातले बताए ।

नेपालमा पूर्वाधारका क्षेत्रमा रहेको लगानीको सम्भावनालाई क्षेत्रीय तथा अन्तराष्ट्र्रिय स्तरमा समेत प्रचारप्रसार गरी पूर्वाधार विकासमा विदेशी लगानी समेत खोज्ने सम्मेलनको उदेश्य रहेको छ । ‘पूर्वाधार विकासको वातावरण तयार गरी पर्याप्त मात्रामा लगानी बढाउने पहलका लागि सम्मेलन गरिने भएको हो’ उनले भने – ‘सम्मेलनले पूर्वाधार विकासका लागि मुलुकको नीतिगत सुधारका सवालसमेत उठाउने छ ।’

 

सम्मेलनमा मित्रराष्ट्र भारतका सडक, पारवहन तथा राजमार्गमन्त्री नितिन गडकरी प्रमुख वक्ताका रुपमा सहभागी हुनेछन् । त्यस्तै विकास निर्माण पूर्वाधार क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी मन्त्रालय, विभाग र लगानी बोर्ड, भारतीय उद्योग वाणिज्य महासंघ र नेपाली उद्योगी व्यवसायीसमेत गरी ४ सयभन्दा बढी सरोकारवालाको सहभागिता रहने छ । त्यस्तै भारत, चीन, जापानलगायत मुलुकका लगानीकर्तालाई समेत आमन्त्रण गरिएको परिसंघले जनाएको छ ।
सम्मेलनले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपालको पूर्वाधार विकासलाई गति प्रदान गर्दै आगामी सन् २०२२ सम्म नेपाललाई विकासशील देशको कोटीमा पुर्याउने लक्ष्यलाई टेवा पुर्याउने परिसंघले विश्वास लिएको छ ।

सम्मेलनमा आर्थिक विकासमा पूर्वाधारको महत्व, अन्य छिमेकी देशका अनुभव र उत्कृट अभ्यासका बारेमा छलफल तथा प्रस्तुति दिइने परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले बताए । त्यस्तै नेपालमा यस क्षेत्रको अवस्था, यसको विकासका लागि नीतिगत तथा अन्य व्यवधानका साथै तीनको समाधानका उपायका विषयमा पनि  व्यापक छलफल हुने उनले जानकारी दिए । ‘सम्मेलनले नेपालको पूर्वाधारलाई दक्षिण एसियाको स्तरमा पुर्याउने बाटो खोज्ने छ’ उनले भने ।
सम्मेलनमा मुख्य पाँच वटा सत्र हुने छन् । ती सत्रहरुमा पूर्वाधारको अवस्था, लगानीको सम्भावना, नीतिगत सुधार र लगानी आकर्षणमा केन्द्रित हुने जनाइएको छ । पूर्वाधार बिना मुलुकको औद्यौगीकरण सम्भव नभएकाले परिसंघले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उनले बताए । परिसंघका उपाध्यक्ष अनुज अग्रवालले सम्मेलनले पूर्वाधारको आवश्यकता र महत्त्वका बारेमा समेत चेतना अभिवृद्धि गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL