Logo

महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु, ६ क्षेत्रमा महिलालाई तालिम प्रदान गरिने

महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु, ६ क्षेत्रमा महिलालाई तालिम प्रदान गरिने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तिकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्ष्ँेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भईसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे ।

महिलाहरुद्धारा उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘महिला दिदीबहिनीहरुले उत्पादन गरेका बस्तुहरु उत्पादनस्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य बस्तुहरुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ ।’

आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताए । उनले अपाङगता भएका महिलालाई उद्यमशिलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताए ।

चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताईन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरुलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको उनको भनाई थियो ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिईने बताईन् । उनले महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न शिप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL