Logo

नेपाली पर्यटन बचाउन गुणस्तरीय पर्यटक, भरत बस्नेतको लेख

नेपाली पर्यटन बचाउन गुणस्तरीय पर्यटक, भरत बस्नेतको लेख



काठमाडौं । विगतदेखि वर्तमानसम्म नेपाली पर्यटन क्षेत्रको विवेचना गर्दा देखिने एउटै निष्कर्ष हो–‘अब समयमै हाम्रो पर्यटनको वर्तमान ट्रेण्डलाई परिवर्तन नगर्ने हो भने केही समयमै नेपाली पर्यटन धराशायी हुनेछ ।’ हुन त यो निष्कर्षप्रति धेरैको असहमति रहन सक्ला तर, अहिलेको पर्यटनको जुन ट्रेण्ड नेपालमा चलिरहेको छ त्यसले देशका लागि कुनै पनि हित गदैन र नेपालको पर्यटन पनि जोगिदैन । अहिले नेपाल सरकार, पर्यटन बोर्ड, व्यवसायी र हाम्रा नीतिहरु देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने भन्ने एकसुत्रमा मात्र अघि बढेको अवस्था छ ।

laxmi

विगत ३ दशकयता नेपाली पर्यटन क्षेत्रमा नम्बरको होडबाजी चलिरहेको छ । सरकार आफै यति लाख पर्यटक नेपाल भित्र्याउने भन्दै लक्ष्य तोकेर विभिन्न क्याम्पेन चलाइरहेको छ । तर, अहिलेसम्म हाम्रो देशको पर्यटनको आवश्यकता के हो ? पर्यटनबाट राज्यले कसरी अधिकतम लाभ लिन सक्छ भन्ने विषयमा गम्भीर बहस हुनसकेको छैन् । यसैले पछिल्ला दशकमा नेपाली पर्यटन थप खस्किदै र कमजोर बन्दै गइरहेको छ । यही गतिमा हाम्रो पर्यटन अगाडि बढिरहने हो भने पर्यटन क्षेत्रमा रहेका सम्भावना र अवसरहरु क्रमश क्षयीकरण हुँदै जाने र राज्यले करोडौ पर्यटन नेपाल भित्रिएपनि लाभ भने निकै कममात्र प्राप्त हुनेछ ।

विगतको अनुभव

नेपाली पर्यटनको विगत वास्तवमै चर्चायोग्य छ । विसं २०३६ सालमा मैले नेपालको ठूलो ट्राभल कम्पनी यती ट्राभलमा काम गर्ने अवसर पाए । त्यतिबेला त्यो ट्राभल एसियाकै ठूलो मध्येको एक थियो । त्यतिबेलै त्यो एउटा ट्राभलले वार्षिक ५० हजार जति पर्यटक ल्याउथ्यो । त्यो पनि एकदमै उच्चस्तरीय पर्यटक । त्यतिबेला काम गर्ने कर्मचारी, टुर गाइड, अपरेटर्स, भौतिक संरचना त्यही अनुसारको मेन्टेन भएको थियो । म पछि त्यो ट्राभल छोडेर चितवनको टाइगर टप्स जंगल लजमा आवद्ध हुन पुगे । त्यो लजले बनाएको छवि यतिसम्म थियो कि विदेशीले टाइगर टप्स जंगल लज भनेपछि समग्र नेपाल चिनिन्थ्यो । त्यतिबेला नै २ जना पर्यटकलाई सेवा दिँदा ५ सय डलर लिने गरिएको थियो । उडान खर्चसमेत गर्दा त्यतिबेलै पर्यटकले नेपाल आउँदा गर्ने खर्च ७ सय डलर नाघ्थ्यो ।

त्यो समयमा एकजना जापानिज मियाहाराले सोलुखुम्बुको स्याङबोचेमा एभरेष्ट भ्यु होटल खोलेका थिए । उनको त्यो होटल जापानीजलाई आकर्षित गर्न खोलिएको भएपनि अरु देशका पर्यटकको पनि त्यहाँ आकर्षण थियो । त्यतिबेला आन्तरिक उडामा पिलाटस पोर्टर भन्ने विशेष विमानले मात्रै उडान गर्ने अवस्था थियो । त्यही जहाजबाट पर्यटक स्याङबोचे विमानस्थलमा जाने गर्थे । एभरेष्ट होटलमा २ रातसम्म बसेर सगरमाथाको र अन्य हिमालको भ्यू पनि हेरेर पर्यटक मख्ख पर्थे । ती पर्यटकले गर्ने खर्च हजारौं डलरमा रहन्थ्यो । त्यतिबेला भारत भन्दा पर्यटकको रोजाइ नेपाल नै हुन्थ्यो भने पर्यटक पनि स्तरीय मात्र नेपाल भ्रमणमा आउने गर्थे । काठमाडौंमा साना होटलमा अहिलेजस्तो चार्म नै थिएन । चार तारे र पाँच तारे होटल थिए । त्यसमा बस्ने गरी आउन सक्ने पर्यटक भनेको स्तरीय नै हुने गर्थे ।

पदयात्राको आकर्षण

पदयात्रा पर्यटन अर्थात ट्रेकिङ सधैं नेपालको आकर्षणको रुपमा रहेको छ । सन १९८०–१९९० को दशकमा पनि नेपालमा आउने पर्यटक त्यतिबेला मुख्यरुपमा पदयात्राको लागि आउँथे । पदयात्रा गर्दा पनि दिनभर हिंड्ने र बास बस्दा पाल टाँगेर बस्ने गरिन्थ्यो । यसो गर्दा पर्यटकलाई नयाँ र साहसिक यात्रा हुने थियो भने सेवा पनि महंगो हुन्थ्यो । विहान खाजा, दिउसो खाजा, बेलुकाको खानसहितको सबै सुविधा दिएर त्यतिबेला ट्रेकिङ कम्पनीले एउटा पर्यटकको ३–४ सय डलर पाउँथे । त्यतिबेला भएका ट्रेकिङ, ट्राभल कम्पनीको निकै महत्व थियो ।

राफ्टिङमा पनि उत्साह थियो । एउटा १० जनाको पदयात्रा गर्ने पर्यटकको समूह नेपाल आउँदा गाइड, भरिया, कुक, सहयोगीसहित ५० जनाले रोजगारी पाउने अवस्था थियो । पर्यटकले गर्ने खर्च पनि निकै ठूलो हुन्थ्यो । त्यसको लाभ सयौले पाउने अवस्था थियो । पर्यटकहरु काठमाडौंबाट चरौदीसम्म जाने गर्थे भने त्यहाँबाट राफ्टिङ गर्दै रमाउँदै चितवसम्म पुग्ने गर्थे । खोला किनारमा क्याम्पिङ गर्दै ३ दिनमा चितवन पुग्दा पर्यटकले गर्ने अनुभव साँच्चै अवर्षनीय हुन्थ्यो भने त्यसबाट सयौ नेपालीले लाभ पाउँथे । सरकारको योजनाभन्दा पनि व्यवसायीको योजनामा गुणस्तरीय पर्यटक भित्रने गर्थे त्यतिबेला । जंगल सफारी, राफ्टिङ, ट्रेकिङहरुमा स्थापित र शुरुवाती चरणमा राम्रो गरेका कम्पनीबाट पर्यटकलाई सेवा पुगेको थियो ।

सेवामा वेवास्ता मूल्यमा प्रतिस्पर्धा

विस २०४५ साल अगाडि पर्यटकीय सेवाका लागि अनुमति पनि सबैलाई खुला भएको थिएन । जब पर्यटकीय सेवा सबैका लागि खुला गर्ने र सहजीकरण हुन थाल्यो तब गुणस्तरीय पर्यटकको मर्म सकिदैँ गयो । प्रतिस्पर्धा धेरै हुन थाल्यो । प्रतिस्पर्धा सेवा सुविधामा भएन मूल्यमा मात्रै भयो । जसले गर्दा पर्यटकीय सेवा खस्कदै जान पनि थाल्यो । अहिले आएर साना लज, होटल, होमस्टे, ट्राभल, ट्रेकिङ, राफ्टिङ कम्पनी धेरै भए । तिनीहरुले जसरी पनि पर्यटक ल्याउने, लागत उठाउने र व्यवसाय धान्ने ध्याउन्नमा साह्रै सस्तो सेवा दिन थाले । सस्तो सेवाले न त गुणस्तरीय पर्यटकीय सेवा बाँकी रह्यो न त पर्यटन क्षेत्रको महत्व नै । नेपाल त निकै सस्तो देश हो प्रचार भएसँगै एकदमै कम खर्चालु पर्यटक मात्र नेपाल भित्रिने थाले ।

गुणस्तरीय पर्यटक नेपाल ल्याउनुपर्छ भन्ने मान्यता र यही क्षेत्रमा गरेको कामको अनुभवले मैले पनि २०४५ सालमा ट्राभल कम्पनी खोले । त्यतिबेलाको पर्यटकीय सेवा साइक्लिङ, ट्रेकिङ, राफ्टिङ, बर्ड वाचिङ, जंगल सफारीसहितको गतिविधि हुन्थ्यो । सरकारले २०५४ सालमा नेपाल भ्रमण वर्ष १९९८ भनेर घोषणा गरेको थियो । त्यतिबेला नेपालमा १० लाख पर्यटक ल्याउने भनेर सख्ंयासँग जोडेर अभियान चलाएको थियो । गुणस्तरीय पर्यटक ल्याउने र संख्यामा बढी जोड नदिन हामी व्यवसायीले भने सुझाव दिँदै आएका थियौ । सरकारले भने नेपाल चिनाउन पनि धेरै पर्यटक ल्याउनुपर्ने भन्दै भ्रमण वर्षलाई संख्यात्मक लक्ष्यसहित अगाडि बढायो ।

किन खस्कियो पर्यटन

पछिल्लो समय नेपाली पर्यटन निकै खस्किएको अनुभव सबैले गरिरहेका छन् । विनायोजना र लहडमा अघि बढ्दा अहिले हाम्रो हालत निकै कमजोर बन्दै गएको छ । हाम्रो अन्तराष्ट्रिय छवि निकै नराम्रो छ । सरकारले समयमै निित नबनाउँदा कुनैबेला अन्तर्राष्ट्रिय मिडियाले ‘गुड बाइ सांग्रिला’ भनेर समाचार नै लेखे । त्यसले गर्दा नेपालको पर्यटनलाई निकै क्षति पुग्यो । जसले गर्दा गुणस्तरीय पर्यटकको वातावरण पनि बिग्रियो । त्यो अवस्थामा हामीले पर्यटकलाई सेवा दिँदा सम्पदा संरक्षण, वातावरण संरक्षण, प्रदूषण कम गर्ने योजनासहितको अभियान पनि चाल्यौ । काठमाडौंमा प्रदूषण गर्ने त्यतिबेलाको विक्रम ट्याम्पोलाई विस्थापन नै गर्न सफल भयौ ।

प्रदूषण घटाउने उपाय अनपाउन थालेसँगै नेपालको छवि अन्तर्राष्ट्रिय रुपमा राम्रो हुन पुग्यो र पर्यटक आउने वातावरण बन्ने अवस्था आयो । तर, विडम्बनाको कुरा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बचाइराख्न पछिल्ला दिनमा कुनै काम भएनन् । यसले नेपाल आउन चाहेपनि स्तरीय पर्यटक नेपाल भित्रिन छाडे । चितवन राष्ट्रिय निकुञ्ज भित्रका लज बन्द भएपछि नेपालमा गुणस्तरी पर्यटकको महत्वलाई थप खस्काइदियो । नेपालमा अफ्रिकापछि सबैभन्दा बढी आकर्षण रहेको चितवनको वाइल्डलाइफ टुरिजम नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउने सबैभन्दा बलियो माध्यम थियो । सरकारले जंगलभित्रका लज बन्द गरेर पर्यटक आउने वातावरण नै विगार्यो । भित्रका होटल बन्द गरेर बाहिर सयौंका संख्यामा साना होटल खुलेका छन् । तर, त्यहाँ त त खर्चाल् पर्यटक नै आउँछन् न त राज्यलाई आम्दानी पहिलेजस्तो आम्दानी भएको छ ।

क्यारियरको अभाव

हाम्रो अवस्था कस्तो छ भने हामीसँग हाम्रो देशमा पर्यटक भित्र्याउन आफ्नो बलियो क्यारियर छैन् । तर, यो अवस्था पहिले थिएन । हामीसँग विश्वका विभिन्न गन्तब्यमा सीधा उडान भएको रोयल नेपाल एयरलाइन्स (आरएनएसी) थियो भने विश्वका विभिन्न प्रतिष्ठित एयरलाइन्सले नेपालमा उडान भर्थे । जसबाट नेपालमा सीधै विभिन्न मुलुकका स्तरीय पर्यटक नेपाल भित्रिन्थे । त्यतिबेला नेपालबाटै वायुसेवा निगमले फ्यांकफर्ट, लण्डन, पेरिसमा उडान गर्दा नेपालकै छवि उच्च थियो । नेपालमा खर्च गर्ने पर्यटक सीधै आउन सक्ने अवस्था थियो । तर, पछि अवस्था कस्तो आयो भने सरकारले सन १९९८ मा भ्रमण वर्ष शुरु गरेको समयमै नेपालमा सेवा दिइरहेको लुफाथान्सा एयरलाइन्सले उडान बन्द गर्यो । त्यसले नेपाल सरकारको घोषणालाई धक्का दियो । त्यसको विकल्पमा हामीले अस्ट्रियाबाट काठमाडौं आउने गरि अष्ट्रियन एयर नेपाल ल्यायौ । जसले सन् २००७ सम्म उडान ग¥योे । नेपालमा माओवादी सशस्त्र द्धन्द शुरु भएसँगै यो वायुसेवाले पनि नेपाल उडान बन्द गर्यो ।

अहिले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मुख्य समस्या राष्ट्रिय ध्वजाबाहक बलियो नहुनु नै हो । नेपालबाट सीधै यूरोप र अमेरिकी मुलुक उडान हुनुपर्छ । सीधा उडान नहुँदा पर्यटकलाई यात्रा महंगो पर्छ । अहिले नेपालमा आइरहेका जहाजले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मात्रै ध्यान दिएर उडान गरिरहेका छन् । उनीहरुको फोकस पर्यटक नभएर श्रमिक मात्रै हुँदा पर्यटक ल्याउने र लैजाने क्यारिय नै छैन भन्नुपर्ने अवस्था छ । सातामै ४, ५ वटा उडान यूरोप अमेरिकासम्म हुने, विदेशी वायुसेवाको भर पर्नु नपर्ने हो भने भने पर्यटक आउन समस्या हुँदैन । अहिले विदेशी वायुसेवामा युरोपेली मुलुक टर्कीबाट मात्रै नेपालमा उडान हुन्छ । नेपालमा पर्यटक बोक्ने थप जहाज चाहिन्छ ।

ट्रेन्ड परिवर्तन आवश्यक

अब पनि अहिलेकै ट्रेन्डमा चलिरहने हो भने विस्तारै नेपालको पर्यटन सकिन्छ । नेपालमा आउने पर्यटकलाई के देखाउने भन्नेमा अहिले हामी अन्यौल बन्दै गइरहेका छौं । नेपाल आउने पर्यटकले ट्रेकिङमा जाँदा लज तथा होटलमा बसेर आरामदायी सेवा खोज्दैन । उनीहरुले क्यापिम्ङ टे«किङ रुचाउँछन । हामीले नेपालको मौखिक संस्कृति, परम्ररा देखाउदै गर्नुपर्ने टे«किङ अहिले हराउँदै गएको छ । त्यतिबेला ५ जना पर्यटक आयो भने २० जनाभन्दा बढीले प्रत्यक्ष काम पाउँथे । अहिले त एक जना गाइडले नै २० औं जना पर्यटक घुमाउँछन । होटलमा बस्यो, जहाजमा गयो, सहयोगीहरु नलिने र सस्तो सेवा दिने होडबाजीले नेपाली पर्यटनलाई राम्रो गर्दैन । जसरी भुटानले २५० डलर अनिवार्य दैनिक खर्च गर्ने पर्यटक मात्रै भित्र्याउँछ त्यसैगरी नेपालले पनि न्यूनतम १०० डलर दैनिक खर्च गर्नेलाई मात्रै स्वागत गर्ने व्यवस्था गर्न सक्छ । यसले पर्यटकीय सेवा गुणस्तरीय हुन्छ भने अन्तर्राष्ट्रिय सन्देश पनि राम्रो प्रवाह हुन्छ ।

नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउने क्षेत्र सकिदै गइरहेको छ । पहिले अन्नपूर्ण राउण्ड ट्रेकिङ गर्दा २१ दिनको हुन्थ्यो । त्यतिबेला हुने टे«किङ संसारकै साहसिक तथा नमूना थियो । अहिले हामीले जथाभावी सडक बनाएर त्यो ट्रेकिङको आकर्षण नै सकियो । जहीतही बाटो पुगेकोले अहिले न ट्रेकिङ रुट बाँकी रह्यो न त आकर्षण नै । निकुञ्जभित्रका वल्र्ड क्लासका सुविधासम्पन्न होटलहरु बन्द गरेर सरकारले विश्वकै स्तरीय पर्यटक भित्रेयाइरहेको नेपालको सफारी पर्यटन नै समाप्त पार्यो । पछिल्लो समय सरकारले केही नै गरेन । विस २०४५ सालपछि त नेपालमा सरकार नै महसुसनभएको जस्तो भइरहेको छ । हामीसँग भएको युनिकनेसमा हिमाल, जंगल, नदीनाला र संस्कृतिक सम्पदा नै हुन् । त्यसलाई जोगाउनुपर्ने चुनौती छ । भएकै संरचना मासिदै गएको छ ।

अहिले बाँकी रहेको मुस्ताङ, डोल्पा हुन् । लोमान्थाङ, डोल्पासँगै पश्चिम नेपालका केही भर्जिन क्षेत्र छन । ती क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ । नेपालले प्रति पर्यटक १०० डलर सरकारलाई राजस्व तिर्ने पर्यटकलाई मात्रै ल्याउने गरेर नीति बनाउनुपर्छ । यो नीति बनाउँदा केही समय र केही हदसम्म साना पर्यटकीय सेवालाई असर गर्न सक्छ । दीर्घकालीन रुपमा नेपाललाई फाइदा हुन्छ । हामीले भएकै धेरै संरचनालाई विगारेका छौं । अहिले पनि जोगाउने र प्रवद्र्धन गर्ने हो हो भुटान भन्दा निकै सुन्दर र सम्भावना भएको क्षेत्र नेपाल हो । पर्यटकीक सेवामा कुनै सम्झौता नगर्ने, पुरानो शैली जोगाउने र हाम्रो मैलिकता प्रस्तुत गर्नसकेमात्र नेपालमा विश्वकै खर्चालु पर्यटक भित्र्याउन सकिन्छ । प्रकृतिका हिसाबले त नेपाल विश्वकै आकर्षण भइहाल्यो । पर्यटकलाई नेपालमा ल्याएर गुणस्तरीय सेवा दिने, मौलिकता र संस्कृति प्रदर्शन गर्ने उद्देश्यले नै भोजन गृह, कान्तिपुर टेम्पल हाउसको मैले शुरुवात मैले गरे । कान्तिपुर टेम्पल हाउस वातावरण मैत्री, एयर कन्डिसन नभएको, नेपाली संस्कृति झल्काउने होटल हो । गुणस्तरीय पर्यटकलाई नै सेवा दिने गरी शुरु भएको गोरखा र चितवनको गैंडा वाइल्डलाइफ भने बन्द भयो । तर, हामीले यस्ता पूर्वाधार अझै बढाउनुपर्छ ।

निष्कर्ष

पछिल्लो समय पर्यटन क्षेत्रले अनौपचारिक क्षेत्रमा १० प्रतिशत जति जीडीपीमा योगदान गरेको छ । यसलाई डबल गर्नुपर्ने चुनौती छ । यो चुनौती पूरा गर्न पूर्वाधार, क्यारियरको सहजतासँगै हाम्रो प्रवृत्ति पनि परिवर्तन गर्नुपर्छ । पर्यटकलाई धेरै भन्दा धेरै सेवा दिने तर, संख्या हेरेर प्रवद्र्धन गर्ने होइन । क्षमता र आवश्यकता हेरेर प्रवद्र्धन गर्नुपर्छ । व्यवसाय गर्ने सरकारलाई कर पनि आउने वातावरण हुनुपर्छ । नेपालमा अहिले पर्यटकको बसाइ औसतमा १२ दिनको छ । यो बसाई अवधि नराम्रो भने होइन । तर यतिका दिन बस्दा पनि उसले गर्ने खर्च भने गुणस्तरीय पर्यटकले औसतमा ३ दिन गर्ने खर्च पनि हुँदैन । त्यसैले हामीले आम्दानी बढाउने पर्यटकलाई नै बढी जोड दिनुपर्छ । (बस्नेत वरिष्ठ पर्यटन व्यवसायी तथा पृथ्वी विचार अभियन्ताका रुपमा चिनिनुहुन्छ) चेम्बर स्मारिकाबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL