Logo

१८ संस्था मर्जरसँगै सबैभन्दा ठूलो बन्यो ग्लोबल आईएमई बैंक, आकारसँगै दायित्व पनि बढ्यो

१८ संस्था मर्जरसँगै सबैभन्दा ठूलो बन्यो ग्लोबल आईएमई बैंक, आकारसँगै दायित्व पनि बढ्यो



काठमाडौं । एकिकृत कारोबार सुरु गरेसँगै नेपालको सबैभन्दा ठूलो बाणिज्य बैंकको अग्र स्थानमा आएको छ ग्लोबल आईएमई बैंक । एक कार्यक्रमकाबीच अर्थतन्त्री डा. युवराज खतिवडाले जनता र ग्लोबल आईएमई बैंकको एकिकृत कारोबारको शुभारम्भ गरेसँगै पूँजी, ग्राहक, शाखा संजाल, निक्षेप तथा कर्जा परिचालनको हिसावले आजबाट ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको हो । हालसम्म आईपुँग्दा ग्लोबल आईएमई बैंकले विभिन्न १८ वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरिसकेको छ ।

एकिकृत कारोबार कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रिय बैंकले लिएको नीतिलाई आत्मसाथ गर्दै छोटो समयकै दूई ठूला बैंकहरु एक आपसमा मर्ज भई एकिकृत कारोबार गर्न सफल भएको बताए । हाल बैंकको ८४० वटा शाखा संजाल, करिव १९ अर्ब रुपैयाँ चुक्ता पूँजी, ३ हजार संस्थापक सेयरधनी, ३ लाख ५० हजारभन्दा बढि सर्वसाधारण सेयरधनी र २० लाखभन्दा बढि ग्राहक रहेको जानकारी दिँदै सोही अनुरुप दायित्व पनि बढेको बताए । यसैगरी बैंकको निक्षेप २ खर्ब १३ अर्ब पुगेको छ भने कर्जा प्रबाह १ खर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले एकिकृत कारोबार पश्चात बैंकको आकारसँगै दायित्व पनि बढेको भन्दै सोही अनुरुप व्यवस्थापन गरेर अघि बढ्न शुभकामना दिएका थिए । बैंकको पूँजी तथा निक्षेपको आकार ठूलो भएसँगै अबका दिनमा देशमा मेगा आयोजना अघि बढाउन सहयोग हुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । साथै बैंक मर्जर पश्चात बैंकको संचालन खर्च घट्ने भन्दै अबका दिनमा उद्योगी व्यवसायीलाई प्रबाह गरिने कर्जा समेत घटाउनु पर्ने उनको माग थियो ।

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक ठूलो हुनु भनेको सोही अनुरुप जिम्मेवारी पनि ठूलो हुनु रहेको बताए । ‘अब बैंकको लगानीको क्षमता बढेको छ सोही अनुरुप पूर्वाधारका क्षेत्रमा पनि लगानी बढ्नुपर्छ,’ उनले भने, ‘अब बैंकले उद्योगी व्यवसायीलाई कम ब्याजदरमा कर्जा प्रबाह गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको आकार ठूलो भएसँगै ठूला ठूला परियोजनामा विविधिकरण गरेर लगानी गर्नुपर्ने बताए ।

बजारमा निक्षेप परिचालनमा बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको अवस्थामा क बर्गका बैंकहरु एकआपसमा मर्जरमा गएर राम्रो सन्देश दिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए । उनले देशको अर्थतन्त्रको आकार अनुसार बैंक तथा वित्तीय संस्था बढि भएको जानकारी दिँदै आगामी दिनमा पनि मर्जर तथा एक्विजिशनको आवश्यकता रहेको बताए ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आईएमई बैंकले एकिकृत कारोबार सुरु गरेसँगै देशमा ठूला पूर्वाधार निर्माणका लागि पूँजी जुटाउन सहज भएको बताए । कुनै बेला १० वटा बैंक मिल्दा ५ अर्ब रुपैयाँ जुटाउन गाह्रो अवस्था भएको स्मरण गर्दै अबका दिन एउटै बैंकले सो बराबरको रकम लगानी गर्न सक्ने बताए ।

देशमा अर्को ५ बर्षसम्म उच्च आर्थिक वृद्धि हासिल गर्न ठूला पूर्वाधार तथा व्यवसायिक क्षेत्रमा लगानी गर्नु पर्ने भएको र उक्त आवश्यकता ग्लोबल आईएमई बैंकजस्ता ठूला पूँजी भएका बैंकले परिपूर्ति गर्न सक्ने बताए । साथै आगामी दिनमा दिर्घकालिन पूँजी परिचालनका लागि अझै ठूला बैंक आवश्यकता रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL