काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
सहमतिपत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मनाङको नासोङ गाउँपालिकामा निर्माण हुने सो आयोजना बुटवल पावर कम्पनी लिमिटेडले प्रवर्र्द्धन गरेको हो। आयोजनाको निर्माण कार्य चिनियाँ ठेकेदारमार्फत ईपीसी मोडलमा अगाडि बढाइनेछ र दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ।
आयोजनाबाट उत्पादित विद्युत मनाङको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। यसका लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद सम्झौता चालु वर्षको वैशाखमै सम्पन्न भइसकेको छ। आयोजना सम्पन्न भएपछि वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ।
एभरेष्ट बैंक, भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा स्थापना भएको संस्था हो। हाल बैंकसँग १३२ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएमसहित करिब १४ लाख ग्राहक सेवा लिँदै आएका छन्।