काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्म आईपुग्दा विदेशी मुद्रा संचिती १८.९ प्रतिशतले बढ्दै २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय आयातमा भएको संकुचन तथा वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्समा उच्च सुधार आएसँगै विदेशी मुद्रा संचितीमा सुधार आएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।