Logo

१६ बैंकको नाफा घट्दा चारको बढ्यो, नाफा घट्नुमा आर्थिक मन्दी कारण

१६ बैंकको नाफा घट्दा चारको बढ्यो, नाफा घट्नुमा आर्थिक मन्दी कारण



काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमा १७ बैंकहरुको नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा घटेको छ । एक वर्षको अवधिमा वाणिज्य बैंकको नाफा औसत ९.९४ प्रतिशतले घटेको उक्त विवरणमा देखिन्छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको ६ महिनामा यी बैंकहरुले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

laxmi

केहि समययता अर्थतन्त्रमा देखिएको समस्थालगायतमा सरकारको केहि नीतिगत व्यवस्थाका कारण बैंकको नाफालगायतका सूचकमा पछिल्लो समय गिरावट आएको जानकारहरु बताउँछन । यसैगरी, केहि समययता बैंकहरुको कर्जा असुली खासै राम्रो छैन । बैंकहरुले कर्जा असुलीलाई प्राथमिकतामा राखेपनि आर्थिक गतिबिधि सुस्त हुँदा लगानी उठ्न सकेको छैन । बैंकले लगानी गरेको कर्जा तथा त्यसको ब्याज नउठेपछि त्यसलाई सम्भावित जोखिमको रुपमा प्रोभिजन गर्नुपर्दा बैंकहरुको प्रोभिजन पनि बढेको छ । यसको असर नाफामा देखिन्छ ।

चालु आर्थिक वर्षको आर्थिक विधेयकमार्फत सरकारले बैंक तथा वित्तीय संस्थालाई एफिओ र मर्जरको ‘बार्गेन पर्चेच गेन’ कर तिर्न लगाएको छ । उक्त कर मार्फत बैंक तथा वित्तीय संस्थाले १३ अर्ब रुपैयाँ बराबर तिरेका छन । यसले पनि बैंकको नाफा प्रभावित भएको एक बैंकर बताउँछन । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ४ बैंकको नाफा भने बढेको छ । यस अवधिमा हिमालयन बैंकको नाफा सबैभन्दा धेरै बढेको छ । यस बैंकको नाफा ५७ प्रतिशतभन्दा धेरैले बढेको वित्तीय विवरणमा उल्लेख छ ।

यसैगरी, यस अवधिमा प्राइम कमर्सियल बैंकको नाफा ३२.३ प्रतिशत र एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षसम्म १२ करोड रुपैयाँभन्दा धेरै ऋणात्मक रहेको कृषि विकास बैंक चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा भने नाफामा रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कृषि विकास बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको हो ।

यता बाँकी १६ वाणिज्य बैंकको नाफा भने गत आर्थिक वर्षको पुस मसान्तसको तुलनामा घटेको हो । एक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । यस बैंकको नाफा एक वर्षको अवधिमा ४९.६० प्रतिशत घटेको छ । एनआईसी एसिया बैंकको नाफा पनि एक वर्षको अवधिमा ४१.८४ प्रतशितले घटेको छ ।

प्रभु बैंकको नाफा ३९.९७ प्रतिशत, नेपाल एसबिआई बैंकको नाफा २८.६० प्रतिशत, एनएमबि बैंकको नाफा २७.६२ प्रतिशत, ग्लोबल आइएमई बैंकको नाफा २६.५७ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको नाफा एक वर्षको अवधिमा २५.६८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL