Logo

एनबी बैंकबाट बाहिरियो विदेशी लगानीकर्ता : ४०.०९ प्रतिशत सेयर बिक्रीका लागि निकाल्यो सूचना, मर्जरका लागि बाटो खुल्यो

एनबी बैंकबाट बाहिरियो विदेशी लगानीकर्ता : ४०.०९ प्रतिशत सेयर बिक्रीका लागि निकाल्यो सूचना, मर्जरका लागि बाटो खुल्यो



काठमाडौं । नेपाल बंगलादेश बैंकबाट विदेशी लगानीकर्ता बाहिरिने भएको छ । सो बैंकको मुख्य लगानीकर्ता बंगलादेशको आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्रीका लागि आवेदन दिएको बैंकले जानकारी दिएको छ ।

laxmi

बैंकको सबैभन्दा ठूलो लगानीकर्ता रहेको आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको ४०.०९ प्रतिशत सेयर बिक्रीका लागि आवेदन दिएको हो । बैंक संचालक समितिको सोमबार बसेको बैंठकमा आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता सेयर बिक्रीका लागि आवेदन दिएको र सोही अनुरुप नेप्सेमा सूचना प्रकाशित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । ‘हामीले राष्ट्र बैंकको नियमन अनुसार पहिलो प्राथमिकता संस्थाकै लगानीकर्तालाई बिक्री गर्ने गरी सूचना प्रकाशित गरेका छौं,’ उनले भने, ‘संस्थाभित्रका लगानीकर्ताले खरिद गर्नुभएन भने बाहिर बिक्रीमा ल्याउने छौं ।’

विदेशी लगानीकर्ताले आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सो समेत संस्थापक सेयरहरु बिक्री गर्नका लागि यस बैंकमा आवेदन दिएकाले नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रबन्धपत्र तथा नियमावली र आइएफआईसी बैंकसँग रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न लागेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ । उपरोक्त म्यादभित्र कसैको निवेदन प्राप्त नभएमा पर्याप्त निवेदन प्राप्त नभएमा वा प्राप्त निवदेनहरु उक्त व्यवस्था बमोजम फिट एण्ड प्रोपर टेस्टबाट अयोग्य देखिएमा वा प्राप्त विवरण पूर्ण नभइ फिट एण्ट प्रोपर टेस्ट गर्न नसकिएमा नियमनुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त सेयरहरु बिक्री गरिने भएको छ ।

विदेशी लगानीकर्ताका कारण बैंकलाई मर्जरमा जान समस्या भइरहेको अवस्थामा उक्त निर्णयसँगै मर्जरको लागि समेत बाटो खुलेको छ । हाल बैंकमा विदेशी लगानीकर्ताको ठूलो सेयर स्वामित्व रहेको र जसका कारण मर्जरमा जान समस्या भएको थियो । बैंकलाई मर्जरमा लैजान सहज गरिदिनकै लागि विदेशी लगानीकर्ता बाहिरिन लागेको समेत बैंक सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL