Logo

संस्थाबाट बाहिरिन क्यापिटल मर्चेन्टका नयाँ लगानीकर्तालाई राष्ट्र बैंकको निर्देशन, धितो हडप्न खोज्दा समस्या

संस्थाबाट बाहिरिन क्यापिटल मर्चेन्टका नयाँ लगानीकर्तालाई राष्ट्र बैंकको निर्देशन, धितो हडप्न खोज्दा समस्या



काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीमा रहेको क्यापिटल मर्चेन्ट वित्तीय संस्थाका नयाँ लगानीकर्तालाई उक्त संस्थाबाट बाहिर निर्देशन  दिएको छ । राष्ट्र बैंकले २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा प्रवलजंग पाण्डे, चिरञ्जीवी थापालगायतका नयाँ लगानीकर्ता भित्रिएका थिए । उक्त समुहले ३ वर्ष बितिसक्दा संस्था संचालन नगरी अझै बढि भद्रगोल बनाएपछि राष्ट्र बैंकले संस्थाबाट बाहिरिन थप दबाब दिएको हो । 

laxmi

राष्ट्र बैंकले २०७८ बैशाख पहिलो हप्तामा नयाँ लगानीकर्ता समुहलाई निश्चित समयसीमा तोकेर संचालनको मोडालिटी दिन वा संस्थामा नयाँ लगानीकर्ता भित्र्याउन लिखितरूपमा निर्देशन दिएको थियो । तर उक्त समयसीमा भित्र संस्था संचालन गर्न सक्ने ठोस आधार सहित नयाँ लगानीकर्ता समुहबाट कुनै प्रतिवद्धता नआएपछि अघिल्लो हप्तामात्रै राष्ट्र बैंकले सो समूहमध्येका मुख्य लगानीकर्ता प्रबलजङ्ग पाण्डेलाई बोलाएर मौखिक रुपमा संस्था संचालन गर्न नसके छाड्न निर्देशन दिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘२०७५ सालमा भित्रिएका लगानीकर्ता समुहले चुक्ता पूँजी हालेर संचालन गर्न सक्ने अवस्था देखिएन,’ उक्त स्रोतले भन्यो, ‘लामो समयसम्म संस्था समस्याग्रस्तमा बस्दा निक्षेपकर्ताका साथै सर्वसाधारण लगानीकर्ताका पैसा फसेको छ, उक्त रकम फिर्ता गरेर संस्था बचाउनकै लागि पनि अब अहिले रहेका लगानीकर्तालाई हटाएर नयाँ लगानीकर्तालाई दिने तयारी गरिरहेका छौं ।’ २०६८ सालमा करिव १६ ओटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्तको सूचीमा रहेकोमा क्यापिटल मर्चेन्ट बाहेक अन्य संचालनमा आईसकेका छन् । तर क्यापिटल मर्चेन्ट भने संचालनमा नआउँदा सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको गरी  ७४ करोड ६४ लाख रुपैयाँ डुब्ने खतरा समेत बढेको छ ।

पाण्डे र थापा समुहका कारण क्यापिटल मर्चेन्टका निक्षेपकर्ताको ७४ करोड डुब्दै, संचालन गर्न नसके छाड्न राष्ट्र बैंकको निर्देशन

कुनै पनि समस्याग्रस्त वित्तीय संस्था संचालनका लागि नयाँ लगानीकर्ता समुह भित्र्याउँदा उक्त आउने समुहले राष्ट्र बैंकको मापदण्ड अनुसार चुक्ता पूँजी हालेर मात्रै प्रवेश गर्नुपर्छ । तर, पाण्डे र थापा समुहले तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाललाई आफ्नो प्रभावमा पार्दै चुक्ता पूँजी नै नहाली समस्याग्रस्त क्यापिटल मर्चेण्टलाई आफ्नो नाममा नामसारी गरेका थिए । कुल ९३ करोड ५० करोड चुक्ता पूँजी रहेको समस्याग्रस्त क्यापिटल मर्चेण्ट संचालन गर्ने भन्दै २०७५ असोजमा पाण्डे, थापालगायतका नयाँ लगानीकर्ता समुहले संस्थापकतर्फका ७० प्रतिशत संस्थापक सेयर खरिद गरेका थिए । तर उनीहरूले संस्था संचालन गर्नुभन्दा पनि धितोमा भएको जग्गा बिक्री गरेर पैसा कमाउने धन्दामा लाग्दा थप अन्यौलता भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । हाल उक्त संस्थामा धितोको रुपमा नगरकोट, छम्पी, चागुनारायण, डुकुछापमा गरी कुल ५९४ रोपनी जग्गा छ । 

लामो समयसम्म नयाँ लगानीकर्ता समुहले आवश्यक पुँजी जुटाउन नसकेपछि राष्ट्र बैंकले नै उक्त संस्था संचालनको लागि नयाँ लगानीकर्ता समुह खोजिरहेको छ । हालसम्म क्यापिटल मर्चेन्ट संचालनको लागि सो क्षेत्रमा विज्ञ र आवश्यक रकम जुटाउन नसक्ने लगानीकर्ता मात्रै आएका कारण समस्या भएको निष्कर्ष निकाल्दै लामो समयसम्म उक्त संस्थालाई समस्याग्रस्तमा राख्न नहुने भन्दै सक्षम लगानीकर्ता खोजीमा राष्ट्र बैंक रहेको छ । सोही अनुरूप पछिल्लो समय उक्त संस्थामा नयाँ लगानीकर्ता भित्र्याउन राष्ट्र बैंकले ३÷४ ओटा ग्रूपसँग छलफल समेत गरिसकेको जानकारी दिएको छ । ‘हामीले पछिल्लो समय क्यापिटल मर्चेन्टको समस्या समाधान गर्नेगरी द्वूत गतिमा छलफल अघि बढाएका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादूर मिश्रले भने, ‘सम्भवत केही दिनभित्रै उक्त सस्थाको हित र प्रणालीमा सुधार ल्याउने गरी राष्ट्र बैंकले निर्णय गर्ने छ ।’


क्यापिटल मर्चेन्टका सीईओ भन्छन् राष्ट्र बैंककै कारण समस्या भयो

क्यापिटल मर्चेन्टका सीईओ रविन्द्र खनाल भने राष्ट्र बैंककै कारण संस्था समस्यामा परेको बताउँछन् । ‘राष्ट्र बैंकले तत्कालिन समयमा नयाँ लगानीकर्ता समुहलाई संस्था संचालनको लागि सेयर खरिदबिक्रीको स्वीकृति दिँदा पनि गलत तरिकाबाट दिएको देखिन्छ,’ उनले भने, ‘समस्याग्रस्त संस्था संचालन गर्न दिँदा प्रयाप्त पुँजी हालेपछि मात्रै नयाँ लगानीकर्तालाई दिनु पर्दथ्यो त्यतिबेला त्यसो गरिएन तर अहिले नयाँ लगानीकर्ता आएपछि पुँजी नहालेको भन्दै कर्जा असुलीमा रोक लगाईदियो त्यसका कारण झन बढि अन्यौलता बढ्यो ।’

पूर्व गभर्नरकै मिलेमतोमा यसरी ‘कोमा’मा पुर्याइयो क्यापिटल मर्चेन्ट, कानून विपरित अर्बौं कमाउने खेलमा पाण्डे र थापा समुह

खनालका अनुसार अहिले उक्त संस्थामा ८६ करोड रुपयाँ पुँजी कोष अपुग छ । ‘यस्तो अवस्थामा कि राष्ट्र बैंकले लगानीकर्ताहरुलाई आफैले आवश्यक पुँजी हालेर संस्थालाई समस्याग्रस्तबाट निकालेर चलाउनु भन्नु पर्छ कि ऋणीको धितो लिलामी गरेर उठौती गर्न दिनुपर्छ ।’ तर राष्ट्र बैंकले सुरुवाती चरणमै गल्ती गरेरकाले अहिले थप समस्या भएको उनको तर्क छ । राष्ट्र बैंकले नयाँ लगानीकर्ता समुहले लगानी जुटाउन नसकेको भन्दै धितो लिलामीमा रोक लगाएको थियो । तर अहिले आएर प्रयाप्ता पुँजी हालेर समस्याग्रस्तबाट ननिकालेको अवस्थामा पनि धितो लिलामी लिलामी गर्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । 

सोही अनुरूप आफुहरुले ऋणीलाई ग्रूपमा कर्जा तिर्नको लागि सूचना प्रकाशित गरेको छ । पहिलो चरणमा सूचना प्रकाशित गर्दा लकडाउनका कारण समस्या भएकाले अहिले साउन २८ गतेसम्मका लागि कर्जा तिर्नका लागि समयसीमा दिइएको समेत सीईओ खनालले जानकारी दिए । उक्त समयसीमा सम्म पनि ऋणीले कर्जा नतिरेको खण्डमा नयाँ स्टेप चालिने समेत उनको भनाई थियो ।

ऋणी भन्छन् नयाँ लगानीकर्ताले धितो हडप्न खोज्दा समस्या

संस्थामा नयाँ लगानीकर्ताको रुपमा प्रवेश गरेका प्रबलजङ्ग पाण्डे, चिरञ्जीवी थापालगायतका नयाँ लगानीकर्ता समुहले आफुले लगानी नै नगरी ऋणीको धितो लिलाम गरेर अर्बौं रुपैयाँ कमाउने खेलमा लाग्दा लामो समयसम्म संस्था संचालनमा आउन नसकेको सम्बद्ध ऋणीहरु बताउँछन् । ‘नयाँ भित्रिएका लगानीकर्ता समुहले १२/१३ करोड रुपैयाँ लगानी गरेर ऋणीको ४ अर्ब रुपैयाँभन्दा बढिको धितो हत्याउन खोजेका छन्,’ ऋणी मध्येका एक बालगोपाल सिलवालले भने, ‘यदि नयाँ लगानीकर्ताले आवश्यक पुँजी हालेर संस्था संचालन गरेर ऋणीहरुलाई पनि सहज रुपमा ऋण तिर्ने वातावरण गराईदिएको भए समस्या हुदैन्थ्यो तर पछि भित्रिएका लगानीकर्ताले आफुले लगानी नगरी हाम्रो धितो मात्रै बिक्री गर्न खोज्दा समस्या भएको हो ।’

समस्याग्रस्त क्यापिटल मर्चेण्ट नयाँ समुहले संचालन गर्न नसकेपछि लगानीकर्ता खोज्दै राष्ट्र बैंक, ल्यायो ३ अप्सन

प्रतिक्रिया दिनुहोस्
MBL